काठमाडौं- चीनमा हिजो सोमबार भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त भएको छैन। विमान तथा त्यसमा सवार यात्रुको खोजी जारी रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
हिजो स्थानीय समयअनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको थियो। १२३ जना यात्रु र चालक दलका ९ सदस्यसहितको चाइना इस्टर्न कम्पनीको बोइङ ७३७ विमान चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको हो। विमान आकाशबाट सिधै तल खसेको देखेको स्थानीय बासिन्दाले बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
विमानमा रहेका सबैको मृत्यु भएको आंशका गरिएको छ। तर, हालसम्म कसैको शव नभेटिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। ८ हजार ८६९ मिटरको उचाइमा उडिरहेका रहेका बेला विमान दुर्घटनामा परेको हो।
युनान प्रान्तको कुनमिङबाट स्थानीय समयअनुसार दिउँसो सवा १ बजेतिर उडान भरेको विमान दिउँसो ३ बजेर सात मिनेट जाँदा ग्वान्झाउ पुग्ने तालिका थियो।