मस्को- रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गरेका छन्।
केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताउनु भएका पेस्कोभले तर अहिले नभई अलि ढिला मात्रै कुराकानी हुनसक्ने स्पष्ट पारेका हुन्। उनीहरूका बीचमा वार्ता हुनेगरी कुनै घटनाक्रम विकास भएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उनको भनाइ छ।
'दुई देशका राष्ट्रपतिका बीचमा शान्ति वार्ता हुनका लागि अहिले पृष्ठभूमि तयार भइसकेको छैन,' प्रवक्ता पेस्कोभले सोमबार भने।
शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने उल्लेख गर्दै उनले ती केही पनि नभएको जानकारी दिए।
वार्तामा के के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत नदेखिएकाले अहिले नै वार्ता गर्नु सान्दर्भिक नहुने उनको भनाइ छ। गत फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन।
विश्व समुदायले पनि दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन्।