काठमाडौं- युक्रेनमाथि रुसले हमला गरेसँगै साइबर ह्याकरहरू रुसका राष्ट्रपति भलादिमीर पुटिनलाई कमजोर बनाउनका लागि लगातार साइबर हमला गरिरहेका छन्। साइबर ह्याकरहरूको समूहका केही व्यक्तिलाई आफ्नो रणनीतिको बारेमा बीबीसीलाई बताएका छन्।
रुस-युक्रेन युद्ध सुरु भएपछि रुसको वेबसाइटमाथि थुप्रै पटक साइबर हमला गरिएको छ। रुसको एउटा टेलिभिजन नेटवर्कमा हमला हुँदा स्क्रिनमा अलगै दृश्य देखिएको थियो।
यो साइबर हमला टेलिभिजनमा प्रसारित एक छोटो भिडियो क्लिपमा देखाइएको थियो। टेलिभिजनमा सामान्य कार्यक्रम चलिरहेको समयमा स्क्रिनमा युक्रेनमा भएको बमबारीको तस्बिर देखाइएको थियो। भिडियोमा युद्धका बारेमा कुरा गरिरहेका सैनिकहरू पनि देखिन्थे।
यो भिडियो २७ फ्रेव्रुअरीमा सोसल मिडियामा एनोनिमस अकाउन्टबाट पोस्ट गरिएको थियो। र, त्यसमा रुसको सरकारी टेलिभिजन च्यानललाई एनोनिमसले ह्याक गरेर युक्रेनको वास्तविकता देखाइएको दाबी गरिएको थियो।
केही दिनमै उक्त भिडियोलाई लाखौं व्यक्तिले हेरेका थिए। यस काममा एनोनिमसको ह्याक गर्ने तरिकाको छाप देख्नसकिन्थ्यो। एनोनिमस समूहको अन्य ह्याक जस्तै यसको स्वतन्त्र पुष्टि गर्न भने गाह्रो रहेको छ।
एनोनिमस ह्याकरहरूको एक सानो समूहले १२ मिनेटसम्म रुसको च्यानललाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो।
बीबीसीले यस घटनाबारे जानकारी लिन च्यानल सञ्चालन गर्ने रुसी कम्पनी रोसटेलिकमलाई सम्पर्क गर्दा कुनै जानकारी प्राप्त नभएको जनाएको छ।
ह्याकरहरूले भने आफूहरूले गरेको कार्य सही भएको दाबी गरेका छन्। युक्रेनमा सयौं निर्दोष जनताले ज्यान गुमाइरहेको भन्दै ह्याकरहरूले आफूहरूले गरिरहेको गतिविधिलाई सही भएको संज्ञा दिएका छन्। उनीहरूले युक्रेनमा शान्ति स्थापित गर्नका लागि रुसले भूमिका नखेले उसमाथि साइबर आक्रमणलाई थप प्रभावशाली बनाउने ह्याकरहरूको चेतावनी छ।
एनोनिमसले रुसको एक वेबसाइटलाई नियन्त्रणमा लिएर रुसको सरकारी डाटा प्राप्त गरेको दाबी गरेको छ। तर, साइबर सेक्युरिटीमा काम गर्ने कम्पनी रेड गोटसँग जोडिएको लिन्जा फोर्टेले अधिक साइबर हमला साधारण किसिमका भएको उल्लेख गरेको छ।
ह्याकरहरूले डीडीओएस हमला गरिरहेका छन्। जसले वेबसाइटको सर्वरलाई जाम गरिदिन्छ। लिन्जाले यो साइबर हमला सहज हुने बताएको छ। यस्तो अवस्थामा केही समयका लागि वेबसाइटमाथि असर पर्ने उसले जनाएको छ।
'तर, टेलिभिजनमाथि हमला गर्नू जटिल काम हो। यो हमला निकै रचनात्मक हो', उसले भनेको छ। साइबर हमललाले रुसमा अप्ठ्यारो स्थिति पैदा गरिदिएको छ। र, साइबर विशेषज्ञहरूले यसलाई चिन्ताको अवस्था भनेका छन्।
उनीहरूले कुनै अस्पतालको नेटवर्क वा अत्यावश्यक सञ्चार नेटवर्क नहोस् भनेका छन्। त्यस्तो भएमा भयावह स्थिति हुने साइबर विज्ञहरूको चिन्ता छ।
साइबर पोलिसी जर्नलसँज जोडिएको एमिली टेलरले अहिलेसम्म आफूले यस्तो खाले हमला नदेखेको बताएको छ। उसले यी साइबर हमलाले युद्धमा तनाव पैदा हुने चिन्ता व्यक्त गरेको छ।