शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनको एक वर्ष : छवि मात्रै सुस्ताएन, लोकप्रियता नै खस्कियो

बाइडेनको एक वर्ष : छवि मात्रै सुस्ताएन, लोकप्रियता नै खस्कियो

'अमेरिकीहरुको निराशालाई स्वीकार गर्छ। किनभने मेरो कार्यकालको पहिलो वर्ष समाप्त भएको छ। तर, संयुक्त राज्य अमेरिका कोरोना भाइरस महामारी र मुद्रास्फितिका चुनौतीको सामना गर्ने दिशामा निकै अघि पुगिसकेको छ।'
 |  बिहीबार, माघ ६, २०७८

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बिहीबार, माघ ६, २०७८

वासिङ्टन- महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाइडेनको एकवर्षे कार्यकाल अपेक्षाअनुसार सफल हुन नसकेको विश्लेषण गरिएको छ। बाइडेनले कार्यकालको आरम्भमा गरेको प्रतिबद्धता र उनीप्रति अमेरिकी नागरिकको अपेक्षा पूरा हुन नसकेकाले आगामी दिन पनि उनका लागि सहज देखिँदैन। रिपब्लिकनले उनको विरोध गर्न थालेका छन् भने स्वतन्त्रहरुले पनि उनको आलोचना गरिरहेका छन्। यद्पि राष्ट्रपति बाइडेनले अमेरिकीहरुको निराशालाई स्वीकार गर्दै आगामी दिनमा थप रचनात्मक कार्य गर्ने दाबी गरेका छन्।

triton college

कोराना महामारी, ओरालो लागेको अर्थतन्त्र, अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले बिगारेको आप्रावासी समस्या, चीनसँगको नीति र अफगानिस्तान मामिलामा बाइडेनले प्रतिबद्धताअनुसार काम गर्न नसकेको जानकारहरुको टिप्पणी छ। 

जो बाइडेनले ४६ औं अमेरिकी राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्दै एक वर्षअघि जनवरी २० मा भनेका थिए, 'मेरो जित एक उम्मेदवारको जित मात्र होइन, लोकतन्त्रको जित हो।' कोरोना महामारीले थलिएको मुलुकमा काला र गोराबीचको द्वन्द्व थियो। संसद्‌मा आक्रमण भएको थियो। यहीबीच उनले पदभार ग्रहण गर्दै मुलुकलाई एकताबद्ध बनाउने र 'महान् काम' गर्ने प्रतिबद्धता व्यक्त जनाएका थिए। उनले भनेका थिए, 'हामी अहिले भएका खराबीलाई सुधार्न सक्छौं। नागरिकलाई राम्रो रोजगार दिन सक्छौं। बालबालिकालाई सुरक्षित विद्यालयमा पढाउन सक्छौं। घातक भाइरसमाथि जित हात पार्नेछौं।' 

डेन्जर जोनतिर बाइडेनको रेटिङ

जनवरी २० मा राष्ट्रपति बाइडेनले पदभार सम्हालेको एक वर्ष पूरा भएको छ। 'रियल क्लियर पोलिटिक्स'ले गरेको अध्ययनअनुसार उनले ५६ प्रतिशत 'अप्रुभल रेटिङ' सहित कार्यकाल सुरु गरेका थिए। एक वर्षपछि उनको 'अप्रुभल रेटिङ' खस्किएर ४२ प्रतिशतमा झरेको छ। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयले बाइडेनलाई निकै आलोचित बनायो। त्यसैगरी कोरोना महामारीको डेल्टा भेरियन्टको संक्रमणमा बाइडेनको फितलो नियन्त्रणले पनि रेटिङको ओरालो यात्रामा सघाएको थियो। 

corrent noodles
Metro Mart

उनले गरेको प्रतिबद्धताअनुसार महामारी नियन्त्रण र काम गर्ने नागरिकको समृद्धिका लागि काम गर्न नसकेपछि अमेरिकीहरु उनको प्रशासनप्रति असन्तुष्ट बनेका हुन्। अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले ४५ प्रतिशत 'अप्रुभल रेटिङ' बाट कार्यकाल सुरु गरेका थिए भने एक वर्षमा ३५ प्रतिशतमा झरेको थियो। 

बाराक ओबामाले ७० प्रतिशत 'अप्रुभल रेटिङ' बाट कार्यकाल आरम्भ गरेका थिए भने कार्यकाल सकिँदा उनको 'अप्रभुल रेटिङ' ५० प्रतिशतमा झरेको थियो। त्यसैगरी जर्ज डब्ल्यू बुसले करिब ६० प्रतिशत 'अप्रुभल रेटिङ' बाट कार्यकाल सुरु गरेका थिए भने पछि ९/११ को घटनापछि उनको 'अप्रुभल रेटिङ' बढेर ९० प्रतिशत पुगेको थियो। 

 'बाइडेनले कार्यकालको आरम्भमा गरेको प्रतिबद्धता र उनीप्रति अमेरिकी नागरिकको अपेक्षा निकै सकारात्मक थियो। तर, अहिले उनको रेटिङ हेर्दा उनी 'डेन्जर जोन' मा देखिएका छन्।'

बीबीसीका लागि अमेरिकी वरिष्ठ संवाददाता एन्थोनी जर्चरले भने बाइडेनको हनिमुन अवधि सकिएको र आगामी दिन उनका लागि सहज नभएको बताएका छन्। उनले भने, 'बाइडेनले कार्यकालको आरम्भमा गरेको प्रतिबद्धता र उनीप्रति अमेरिकी नागरिकको अपेक्षा निकै सकारात्मक थियो। तर, अहिले उनको रेटिङ हेर्दा उनी 'डेन्जर जोन' मा देखिएका छन्।' अहिले रिपब्लिकनले उनको विरोध र स्वतन्त्रहरुले पनि उनको आलोचना सुरु गरेको जर्चरले बताएका छन्। 

महामारी नियन्त्रण? 

कार्यकाल सुरु गर्दा उनले भनेका थिए, 'अघिल्लो सरकारले कोरोना महामारीबाट मृत्यु हुनेको संख्याको कार्ड गोजीमा राखेर बसेको छ। महामारी नियन्त्रण र यसविरुद्धको विजय मेरो पहिलो प्राथमिकतामा परेको छ।'

उनले कोरोना महामारी नियन्त्रणको अभियानलाई अन्त्य गर्ने अचुक अस्त्रका रुपमा बृहत खोप अभियान र अत्यधिक परीक्षणलाई आधार बनाएका थिए। 

एक वर्षअघि पद तथा गोपनीयताको शपथ लिँदै जो बाइडेन। फाइल तस्बिर : एपी

खोप अभियानलाई तीव्रता दिए पनि। अमेरिकामा हाल करिब ७५ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ६३ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन्। सन् २०२१ देखि पाँच वर्षभन्दा माथिका सबै बालबालिका खोप लगाउन योग्य भएको बताइएको थियो। 

कोरोना महामारीको पछिल्लो ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएपछि करिब आठ करोड अमेरिकीलाई बुस्टर डोज लगाइएको छ। त्यसैगरी घरमै र्‍यापिड टेस्ट गर्ने क्रमलाई पनि यही सातादेखि अघि बढाइएको छ। तर, विभिन्‍न भेरियन्ट देखिनु र खोप लगाउन केही नागरिकले अस्वीकार गर्दा तत्काल महामारी अन्त्य हुने संकेत भने देखिएको छैन। 

पछिल्लो एक वर्षमा अमेरिकामा तीनवटा मुख्य लहर देखिएका छन्। जसमा परी आठ लाख ५० हजारभन्दा बढी अमेरिकीको मृत्यु भइसकेको छ। 

महामारी पहिलो अवस्थाभन्दा कुल रोजगारको अवस्थामा भने सुधार हुन सकेको छैन। करिब ५० वर्षयताकै सबैभन्दा ठूलो बेरोजगारी समस्या देखिएको अमेरिकी श्रम ब्युरोको तथ्यांक छ। 

बाइडेनले सन् २०२१ को जुलाईमा एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, 'अमेरिका कोरोना महामारीमुक्त भएको अवसरमा उत्सव मनाउनेछ।' बीबीसीका जर्चरले भने यसलाई युद्ध सकिनुअघि नै विजयध्वजा फहराएकोजस्तो कच्चा अभिव्यक्ति भनेर टिप्पणी गरेका छन्। उनले भने, 'जब मेमा ह्वाइट हाउससले महामारी राहतसम्बन्धी विधेयकको तयारी गरिरहेको थियो, त्यही समयमा डेल्टा भेरियन्टको संक्रमणले चुनौती दिन थालिहाल्यो।' अहिले फेरि ओमिक्रोनले अमेरिकालाई थला पारेको छ। 

अर्थतन्त्रमा सुधार? 

बाइडेले ४६ औं  राष्ट्रपतिको पदभार ग्रहण गर्दै गर्दा अधिकांश अमेरिकीको आशा महामारीले थलिएको अर्थतन्त्र पुनरुत्थान थियो। महामारीले बेरोजागरी दर बढाएको थियो र उद्योगधन्दा ठप्प थिए। 

एक वर्षमा करिब ६४ लाख मानिसले रोजगारी प्राप्त गरेका छन्। तर, अहिले पनि महामारी पहिलो अवस्थाभन्दा कुल रोजगारको अवस्थामा भने सुधार हुन सकेको छैन। करिब ५० वर्षयताकै सबैभन्दा ठूलो बेरोजगारी समस्या देखिएको अमेरिकी श्रम ब्युरोको तथ्यांक छ। 

तर, रोजगारका केही वैकल्पिक उपाय अवलम्बन गर्दे दर भने बढेको छ। लाखौं अमेरिकीले आफ्नो जागिर छोडेका छन्। यद्यपि यसले रोजगारी बजारमा विश्वास देखाउँछ, केही उद्योगहरूले अहिले श्रमिक अभावको सामना गरिरहेका छन्, जसले विश्वव्यापी आपूर्ति-शृंखला समस्यामा योगदान पुर्‍याउँछ र मुद्रास्फितिलाई बढाउँछ। 

जर्चरका अनुसार अमेरिकी राष्ट्रपतिले सत्ता सम्हाल्दै गर्दा विगत एक वर्षदेखिको महामारीका कारण गरिएको लकडाउनले थला पारेको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका थिए। उनका लागि बेरोजगारी दर घट्दै जानु, स्टक मार्केटमा सुधार हुनु सुखद समाचार भए पनि मुद्रास्फिति बढ्दै जानु भनेको दुखद कुरा हो। 

आप्रवासन पुनर्संरचना?

बाइडेनले गरेका प्रतिबद्धताहरुको अर्को मुख्य बुँदा आप्रवासनको व्यवस्थापन हो। उनले आप्रवासी परिवारलाई अलग्याउने विषय अन्त्य गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका थिए। अघिल्लो डोनाल्ड ट्रम्प सरकारले भने आप्रवासमा कडाइ गर्दा हजारौं परिवारको बिचल्ली बनाएको भन्दै डेमोक्रेटहरुले विरोध गरेका थिए। 

राष्ट्रपति बाइडेनले आप्रवासमा शून्य सहनशीलताको नीति अपनाउने र बालबालिकालाई सीमा क्षेत्रमा नियन्त्रणमा लिने काम अन्त्य गर्ने बताएका थिए। 

सन् २०२१ मा उनले सत्ता सम्हालेपछि भने आप्रवासी र अमेरिकी सीमा सुरक्षा अधिकारीबीच पटकपटक मुठभेड भएका छन्। जसमा एक लाख ६५ हजार बालबालिका संलग्‍न छन्। बाइडेनले एक करोड १० लाखभन्दा बढी अवैध रुपमा अमेरिका पुगेका आप्रवासीलाई वैधता दिने योजना बनाएका थिए। तर, उनले ट्रम्प युगको नीति परिवर्तन गर्न सकेका छैनन्। 

विदेश नीति?

बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाएर चर्को आलोचनाको सामना गरेका भए पनि करिब २० वर्षदेखिको युद्ध अन्त्य भएको छ। पछिल्लो समय अफगानिस्तानमा देखिएको मानवीय संकट समाधानका लागि पनि अमेरिकाले भूमिका खेल्ने जनाएको छ। अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धतासमेत बाइडेनको छ। 

त्यसैगरी यमनमा अमेरिकी संलग्‍नता अन्त्यको घोषणा गरेको छ। यद्यपि अमेरिकाले हावाबाट हावामार्फत नै प्रहार गर्न सकिने ६५० मिलियन डलर बराबरको मिसाइल साउदी अरबलाई बिक्री गर्ने घोषणा नोभेम्बरमा नै गरेको छ। साउदी अरब यमन युद्धको एक मुख्य खेलाडी हो। 

अमेरिकाले मानवअधिकारलाई विदेश नीतिको केन्द्रमा राखेको एसोसियट प्रेसले जनाएको छ। बाइडेले बारम्बार चीनले हङकङमा प्रजातन्त्र समर्थितहरुलाई निशाना बनाएको, सिन्जियाङमा रहेका उइगर र अल्पसंख्यक जातीय समूहको मानवअधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिरहेकै छन्। 

त्यसैगरी विपक्षी नेता एलेक्स नाभाल्नीलाई जेल हाल्‍ने रुसको निर्णयको उनले चर्को आलोचना गर्दै तत्काल रिहा गर्न माग गरेका थिए। उनले पत्रकार जमाल खाशोग्गीको हत्यामा अमेरिकी गुप्तचरले साउदी राजकुमार मोहम्मद बिन सलमानलाई दोषी भएको ठहर गरे पनि उनीमाथि कारबाही गर्न भने बाइडेनले अस्वीकार गरेका थिए। 

जलवायु परिवर्तनमा अमेरिकाको पुनरागमनले विश्‍वभर प्रशंसा कमाएका थिए। चीन नीतिमा संयोजनकारी भूमिका खेलेको भन्दै हिन्द-महासागर राष्ट्रहरुले खुसी व्यक्त गरेका थिए। 

चिनियाँ नजर

चिनियाँ मुखपत्र ग्लोबल टाइम्सले बाइडेन प्रशासनको एक वर्षको अवधिलाई औसत भनेको छ। ग्लोबल टाइम्सले बाइडेन कोरोना महामारी नियन्त्रणमा असफल भएको जनाएको छ। तर, अमेरिकाको विभाजित समाजलाई एकताबद्ध बनाउन बाइडेन सफल भएको चिनियाँ विश्लेषण छ।

'अमेरिकीहरुको निराशालाई स्वीकार गर्छ। किनभने मेरो कार्यकालको पहिलो वर्ष समाप्त भएको छ। तर, संयुक्त राज्य अमेरिका कोरोना भाइरस महामारी र मुद्रास्फितिका चुनौतीको सामना गर्ने दिशामा निकै अघि पुगिसकेको छ।' 

ग्लोबल टाइम्सले भनेको छ, 'बाइडेन युवा र ऊर्जावान् नेता होइनन् र उनको छवि वृद्ध र सुस्त छ, र यस्तो देखिन्छ कि उनको राजनीतिक अनुभवले उनलाई चुनौतीहरू पार गर्न धेरै मद्दत गरेको छ। यद्यपि उनी कोभिड-१९ महामारी ह्यान्डल गर्ने क्षेत्रहरूमा केही गल्ती सुधार गर्न चाहन्छन्, अमेरिकी लोकतन्त्रको प्रणालीगत समस्या अनन्त पक्षपातपूर्ण संघर्षले उनलाई अर्थपूर्ण परिवर्तन गर्नबाट रोकेको छ। यस प्रणालीगत समस्यालाई समाधान गर्ने प्रभावकारी राजनीतिक सुधार कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि लगभग 'असम्भव मिसन' नै हो। 

ग्लोबल टाइम्सले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयलाई 'हतार' को निर्णय भनेको छ। जुन उनको असफल कूटनीति भएको जनाइएको छ। अमेरिकाले रुस र चीनविरुद्ध बनाएको गठबन्धनले सैन्य दौड र आणविक हतियारको द्वन्द्वलाई बढावा दिने बताइएको छ। 

के भने बाइडेनले?

बाइडेनको एक वर्ष पुगेको अवसरमा बोल्दै अमेरिकीहरुको निराशालाई स्वीकार गर्ने बताए। उनले भने, 'अमेरिकीहरुको निराशालाई स्वीकार गर्छ। किनभने मेरो कार्यकालको पहिलो वर्ष समाप्त भएको छ। तर, संयुक्त राज्य अमेरिका कोरोना भाइरस महामारी र मुद्रास्फितिका चुनौतीको सामना गर्ने दिशामा निकै अघि पुगिसकेको छ।' 

ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा बाइडेनले भने, 'हाम्रो काम सकिएको छैन। हामीले काम सुरु गरेका छौं। महामारी र मुद्रास्फिति नियन्त्रणमा सफलतान्मुख छौं। त्यसैगरी बेरोजगारी समस्या अन्त्य गर्दै रोजगारीको व्यवस्था गर्ने कुरामा र नयाँ व्यवसायमा वृद्धि भएको कुरामा सफल भएका छौं।' 

यी हुन् एक वर्षे उपलब्धि

- बाइडेनले मार्चमा १९ खर्ब अमेरिकी डलरको महामारी राहत विधेयक पारित 

अमेरिकालाई पेरिस जलवायु सम्झौतामा फर्काउन सफल 

कार्यकालको सय दिनमा प्रतिबद्धता गरेअनुसार पाँच करोड जनसंख्यालाई १० करोड कोरोनाविरुद्धको खोप 

- ट्रान्सजेन्डरहरुलाई सैन्य सेवामा भर्ती नगर्ने कानुन परिवर्तन

- रिपब्लिकन र केही डेमोक्रेटहरुको विरोधका बीच नोभेम्बरमा एक खर्ब अमेरिकी डलरको भौतिक पूर्वाधार विधेयक पारित 

- छोटो अवधिमा नै न्यायाधीशको नियुक्ति। उनले कार्यकालको पहिलो वर्षमा नै न्यायाधीश नियुक्त गर्न सफल भए। सन् १९८१ मा रिब्लिकन राष्ट्रपति रोनाल्ड रेगनले पनि एक वर्षमा नै न्यायाधीशहरुको नियुक्त गरेका थिए। 

(बीबीसी,एपी, रोयटर्सग्लोबल टाइम्समा प्रकाशित समाचारका आधारमा तयार पारिएको सामग्री।)





प्रकाशित: Jan 20, 2022| 18:50 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।