काठमाडौं- सर्वोच्च अदालतले माघ १८ गतेसम्म पाँच किसिमका मुद्दा मात्रै हेर्ने जनाएको छ। न्यायाधीशसहित ३१ जनामा कोरोना संक्रमण देखिएपछि सर्वोच्चले बुधबारदेखि १४ दिनसम्मका लागि विभिन्न सेवा कटौती गरेको हो।
अदालतका प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा न्यायाधीश, मुख्य रजिस्ट्रारसहित अदालतमा कार्यरत ३१ जनामा कोरोना पुष्टि भएको छ। त्यसैले सर्वोच्चले माघ ५ देखि १८ गतेसम्म पाँच किसिमका मात्रै मुद्दा हेर्ने निर्णय गरेको हो।
प्रवक्ता दाहालका अनुसार बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित मुद्दाको नियमित सुनुवाइ हुनेछ। त्यस्तै मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी काम/कारबाही पनि नियमित रूपमा सञ्चालन हुनेछन्।
सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७(६) र १५५ बमोजिमका थुनुवाहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ जारी राख्ने जनाएको छ।
यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ पनि जारी रहेने छ। हेर्दा हेर्दै र नि.सु.मा रहेका मुद्दाको पनि निरन्तर सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।