काठमाडौं- दुबईबाट फर्किएका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिरहाको सखुवानाकारकट्टी गाउँपालिका–५ का ३० वर्षीय रामेश्वर रामलाई वैदेशिक रोजगारबाट फर्किएकै दिन गत असोज ६ गते अपहरण गरि बन्धक बनाएको भन्दै दिइएको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वनर नगरपालिका-८ जरङ्खुका ३२ वर्षीय संजोग राई, सोही ठाउँका ३० वर्षीय रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन्।
राई र अर्याललाई पुस ३० गते जरङ्खुबाट र घिमिरेलाई माघ २ गते बसन्तनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउ परेकाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परीसरले जनाएको छ।
आफूलाई अपहरण गरी बन्धक बनाएको, कुटपिट गरेको, ज्यान मार्ने धम्की दिएको, सेवन गरेका चुरोटको ठुटोले पोली यातना दिई झोला, मोबाइलसमेतका सामान लिएको भन्दै रामले असोज ८ गते बन्धक बनाएको होटलबाट भागेर प्रहरीमा उजुरी दिएका थिए।
दुबईबाट फर्किएर बल्खुस्थित होटल कञ्चनजंघामा बसेका उनलाई अपहरण गरि ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ।