वीरगन्ज- उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका प्रशासन शाखा अधिकृत जयनारायण रायले सोमबार सूचना जारी गर्दै न्यायाधीशसहित २३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए।
संक्रमण पुष्टि हुनेमा १ जना न्यायाधीश, १ जना रजिष्ट्रार, १ जना उप–रजिष्ट्रार ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बा, १ जना कम्प्यूटर अपरेटरसहित २३ जना कर्मचारी रहेका छन्।
रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले न्यायाधीशसहित २३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले अदालतले दिने सेवामा कटौती गरिएको बताए। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेक सेवा रोकिएको उनले बताए।