काठमाडौं– भारतमा अर्बपतिको संख्या १४२ पुगेको छ। महामारीका कारण ८४ प्रतिशत भारतीय कुनै न रूपमा प्रभावित भए पनि अर्बपतिको संख्या भने बढेको गैरसरकारी संस्था अक्सफामको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार भारतमा अघिल्लो वर्ष ८४ प्रतिशत परिवारको आम्दानीमा निकै गिरावट आएको छ। यस्तै अर्बपतिको संख्या १०२ बाट १४२ पुगेको छ।
भारतमा मार्च २०२० देखि ३० नोभेम्बर २०२१ सम्म अर्बपतिको सम्पत्ति २३.१४ लाख करोड रुपैयाँबाट बढेर ५३.१६ लाख करोड रुपैयाँ पुगेको छ। यसबीचमा ४.६ करोडभन्दा बढी भारतीय अत्यन्त गरिबीमा पुग्ने अनुमान गरिएको छ। प्रतिवेदनअनुसार कोभिड महामारीका कारण भारतमा आम्दानीमा उच्च गिरावट आएको छ भने धनी र गरिबबीचको खाडल झन् गहिरो बन्न पुगेको छ।
महामारीका कारण पछिल्लो एक वर्षमा ८४ प्रतिशत भारतीयको जीवनमा नकारात्मक असर गरेको छ।