काठमाडौं – प्रहरी नायब महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
दर्ज्यानी चिह्नबाट सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षक पूजा सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायब उपरीक्षकहरु र १४ जना प्राविधिक प्रहरी निरीक्षक छन्।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशील हुन निर्देशन दिए। कोभिड(१९को बढ्दो संक्रमणप्रति संवेदनशील एवम् चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उनले समाजमा हुन सक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई संगठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आ(आफ्नो स्थानबाट निष्ठापूर्वक र खटिने प्रतिबद्धता जनाइन्।