काठमाडौं- आज सन् २०२२ जनवरी १८। यहाँ हामीले विश्व इतिहामा आजका दिनमा भएका महत्वपूर्ण घटनाहरु समेटिएका छन्।
जर्मन साम्राज्यको स्थापना
सन् १८७१ जनवरी १८ मा जर्मन साम्राज्यको स्थापना गरिएको थियो। राष्ट्रवादी भावनाभन्दा पनि कूटनीतिक तरिकाबाट तीनवटा युद्धको सफलतापछि जर्मन साम्राज्यको स्थापना गरिएको थियो।
कारी ग्रान्टको जन्म
बेलायतमा जन्मिएका अमेरिकी अभिनेता कारी ग्रान्टको जन्म सन् १९०४ जनवरी १८ मा भएको थियो। गरिबी र परिवारमा आएको विवादका कारण उनले १३ वर्षको उमेरमा घर छोडेर भागेका थिए। उनले त्यो समयमा लन्डनका म्युजिक हलहरुमा काम गरेका थिए। सन् १९२० मा उनी अमेरिका छिरेका थिए। सन् १९८६ नोभेम्बर २९ मा उनको मृत्यु भएको थियो।
सेरा लियोनमा गृहयुद्ध सुरु
सन् २००२ मा जनवरी १८ मा सेरा लियोनमा गृहयुद्ध सुरु भएको थियो। उक्त युद्धमा करिब ५० हजार मारिएको अनुमान गरिएको थियो भने करिब २० लाखभन्दा बढी मानिसहरु घरबारविहीन भएका थिए।
रोबर्ट फालकोन स्कटद्वारा साउथ पोल आरोहण
सन् १९१२ जनवरी १८मा रोबर्ट फालकोन स्कट नेतृत्वको पाँच सदस्यीय टोली साउथ पोल आरोहण गरेका थिए। रोअल्ड अमुन्डसेनले आरोहण गरेको एक महिनापछि उनीहरुले आरोहण गरेका थिए। उनीहरु फर्किने क्रममा बेस क्याम्प नपुग्दै उनीहरुको मृत्यु भएको थियो।