सोमालिया- अल–शाबाब जिहादी समूहको आक्रमणमा परी आइतबार एक सोमालियाली सरकारका प्रवक्ता घाइते भएका छन्। यद्यपि उनलाई ठूलो चोट भने नलागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सोमालियाली संघीय सरकारका प्रवक्ता आतंकवादी आक्रमणमा घाइते हुनुभएको छ, उहाँको चोट गम्भीर छैन। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।'
केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएअनुसार आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गर्नुअघि प्रवक्ताको कारमा चढेर आंशिक रूपमा गाडी नष्ट गर्ने प्रयास गरेका थिए।
आक्रमणको घटनास्थलका एक प्रहरी मोहमद फराहले भने, 'एक आत्मघाती आक्रमणकारी मोहमद इब्राहिमका प्रवक्तालाई बोकेको गाडीमाथि जाइलाग्यो। अनि केही समयमा विस्फोट भयो। प्रवक्तालाई हल्का चोट लागे पनि भाग्यवश ज्यान जोगिएको छ।' घटनामा अन्य दुई जना घाइते भएका बताइएको छ।
आक्रमणको अल–शबाब समूहले जिम्मेवारी लिएको छ। मोहमद इब्राहिम मोलिमु एक वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्रीका प्रवक्ता र सल्लाहकार रहेका छन्।