म्याग्दी- म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो।
यो निर्णय सरकारी तथा गैरसरकारी संघसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ। जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानूनअनुसार कारवाही गरिने बताए। जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै कडाइ गरिएको हो । सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रुपमा अपिल गरिएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमति ३२ रहेका छन्।