काठमाडौ- हामी यस्तो समयमा बाँचेका छौं जहाँ हाम्रा सपना पनि मौलिक छैनन्। हामी अरुले बाँचिरहेका सपना पूरा गर्ने दौडमा छौं। हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिक भएको छ। ‘ड्रिम पाइरेसी’बोलको गीतले यस्तै पाइरेटेड सपनाहरूको कुरा गर्छ।
बिहीबार अस्कर इन्टरनेस्नल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए।
‘हामी अहिले ग्लोब भिलेजमा छौं। जहाँ हामीले देख्ने सपनासमेत आयातित छन्। फिल्ममा चरित्रले यस्तै सपना देख्छन् जुन आफैंमा मौलिक होइनन्। निर्देशक दिनेश पाल्पालीले फिल्मका चरित्रलाई खेपेर शब्द लेख्नु भएको थियो। जसलाई मैले संगीत र स्वरद्वारा अभिव्यक्त गर्ने कोसिस गरेको छु,’ अजरले भने।
फरक शैलीको गीतमा परम्परागत फिल्ममा जस्तो कलाकार देखिन्नन्। बरु युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चस्मा आदिलाई एनिमेसन गरी देखाइएको छ।
चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्शपा ल्पालीले निर्देशन गरेका हुन्। फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेसगर्छ। ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ। फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने।
उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। फिल्मको सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्।