कपिलवस्तु- श्रीमतीको हत्या गरी फरार रहेको आरोप लागेका व्यक्तिलाई कपिलवस्तु प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका-६, स्थित श्रीनगरमा पत्नीलाई बीभत्स हत्या गरेर शव जलाएर फरार रहेका एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो।
सीमावर्ती भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित ग्राम धन्सा घर भएका ३० वर्षे सिकन्दर भन्ने मुलायम चमारलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनको साथबाट नम्बर प्लेट नभएको आर वान ५ मोटरसाइकल, दुई थान मोबाइल र उत्तर प्रदेश प्रान्तीय रक्षक दल महानिर्देशनालयको परिचय पत्र बरामद गरिएको प्रहरीले जनाएको छ।
२०७१ फागुन ३० गते सिकन्दर ससुराली आएका थिए। ज्वाइँ आएपछि ससुरा सुखराम चमारले सक्दो खातिरदारी गरे। खाना खुवाएर मच्छरदानी राखेर छोरी ज्वाइँलाई ओछ्यान लगाइदिएर उनी गोठमा सुत्न गए। मुलायमले राति सँगै सुतेकी श्रीमती किस्लावती चमारको हात, खुट्टा काटेर हत्या गरेका थिए।
कसैले थाहा नपाउन् भनेर मुलायमले घरदेखि तीन सय मिटर टाढा रहेको झिन्कन आरखको रहरको खेतमा शव लगेर जलाउने प्रयास गरेका थिए।
छोरी-ज्वाइँ एक्कासि हराएपछि उनका बुवाले खोजी थालेका थिए। अर्को दिन दिउँसो गाउँलेले एउटा कुकुरले मान्छेको खुट्टा लिएर गइरहेको देखेका थिए। त्यसपछि प्रहरी गएर हेर्दा महिलाको शव फेला परेको थियो।
हत्या आरोपी सिकन्दर पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय आएका ससुरा सुखरामको खुटा समातेर आफूलाई बचाउन अनुनयविनय गरेको बताए।
हत्या घटनाको दुई दिनपछि सिकन्दरलाई भारतबाटै गाउँलेले नेपाल बुझाउन ल्याउँदै थिए। गाउँलेले साइकलमा ल्याउँदै थिए। बीच बाटोबाटै एक जनाको मोटसाइकल खोसेर उनी भागेका थिए। उनले विवाह गरेको दुई वर्ष मात्र भएको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो।