काठमाडौं- नेपाल सरकारको सचिवमा तीन जना सहसचिवको नाम सिफारिस भएको छ।
लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बनेको सिफारिस समितिले तीन जना सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार बढुवा हुने सहसचिवमा पहिलो नम्बरमा रामेश्वर दंगाल, दास्रोमा मुकुन्द प्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेललाई सिफारिस गरिएको हो। बिहिवार बस्ने मन्त्रिपरिषद्को बैठकले यी तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्ने मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए।
उनले भने, ‘सिफारिस भएका मध्यबाट एकजनालाई मन्त्रीपरिषद् बैठकले सचिवमा बढुवा गर्छ।’
सिफारिस हुनेमा रामेश्वर दंगाल अर्थ मन्त्रालयका सहसचिव हुन् भने निरौला प्रशासन तर्फका बन तथा वातावरण मन्त्रालयका सहसचिव हुन्।
यस्तै खरेलले यस अघि लुम्बिनि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।