काठमाडौं- कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन नपाइने गरी कडाइ गरेको छ।
त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधिमा समेत प्रशासनले बन्देज लगाएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो। २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १८ बुँदे आदेश पनि जारी गरिएको छ।
आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।
यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको छ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ।