दाङ- कोरोना संक्रमण बढेसँगै दाङ प्रशासनले मेला-महोत्सवमा रोक लगाउने निर्णय गरेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सव, भेला, सभा तथा सम्मेलनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दर बढ्ने अवस्थामा रहेको भन्दै २५ जनाभन्दा बढी भेला हुने कुनै पनि कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले मेला महोत्सव तथा भेलाबाट कोरोना संक्रमणको दर बढ्ने देखिएकाले अवस्था सहज नहुँदासम्म त्यस्ता कार्यक्रमहरुलाई रोक लगाउने निर्णय भएको हो। अन्य ठाउँहरुमा पनि २५ जनाभन्दा बढी मानिसको जमघट नगर्ने, अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानी वा स्यानिटाइजरले हातलाई सफा राख्ने कार्यलाई अनिवार्य पालना गर्ने गराउने निर्णयसमेत गरेको छ।
त्यस्तै भारतसहित बाहिरी देशहरुबाट आउने नागरिकको वडा तहबाट निगरानी गर्ने, सुरक्षित रहन स्वयं व्यक्तिले सावधानी र होसियारी अपनाउनुपर्ने लगायत निर्णय गरिएको छ। संक्रमितको उपचारका लागि स्रोतसाधन, जनशक्तिलाई तयारी अवस्थामा राख्नेतर्फ काम बैठकले निर्णय गरेको छ।