काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको नागढुङ्गाबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश २–००३–००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागूऔषधसहित भारत विहारका २० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ परेका महतोले झोलामा लागूऔषध लिएर काठमाडौंभित्र प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिए।
प्रहरीले महतोसँग २०० एम्पुल नुर्फिन, २०० एम्पुल फेनार्गन र २०० एम्पुल डाइजेपाम बरामद गरेको हो। पक्राउ परेका महतोलाई लागूऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको उनले बताए।