काठमाडौं- आज सन् २०२२ को जनवरी १२। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्ने गरेका छौं।
हाइटीमा भूकम्प जाँदा दुई लाख मानिसको मृत्यु
सन् २०१० को जनवरी १२ मा हाइटीमा भूकम्प जाँदा दुई लाख मानिसहरुको मृत्यु भएको थियो। हाइटीको पोर्ट औ प्रिन्समा गएको ७ म्याग्निच्युडको भूकम्पले दुई लाख मानिसको मृत्यु भएको थियो भने १० लाख मानिसहरु घरबारबिहीन बनेका थिए। हाइटीमा भूकम्प गएको समयमा शान्ति मिसनमा खटिएका नेपाली सेनाले उद्धार र राहतमा निकै ठूलो योगदान गरेका थिए।
अमेरिकाको सबैभन्दा पुरानो म्युजियमको स्थापना
सन् १७७३ जनवरी १२ मा अमेरिकाको सबैभन्दा पुरानो म्युजियमको स्थापना गरिएको थियो। दक्षिण क्यारोलिनाको चार्ल्स्टोनमा उक्त म्युजियम स्थापना गरिएको थियो।
एङ्लो-जुलु युद्ध सुरु
सन् १८७९ जनवरी १२ मा एङ्लो-जुलु युद्ध सुरु भएको थियो। बेलायतले दक्षिण अफ्रिकाको जुलुल्याण्डमा कब्जा गर्ने घोषणा गरेपछि उक्त युद्ध सुरु भएको हो। उक्त युद्ध करिब ६ महिनासम्म चलेको थियो।
दक्षिण अफ्रिकाका राष्ट्रपतिको जन्म
सन् १९१६ जनवरी १२ मा दक्षिण अफ्रिकाका प्रधानमन्त्री र राष्ट्रपति भएका पी डब्लू बोथाको जन्म भएको थियो। उनले सन् १९७८ देखि १९८४ सम्म प्रधानमन्त्रीको रुपमा र सन् १९८४ देखि ८९ सम्म राष्ट्रपतिको रुपमा काम गरेका थिए।
अमेरिकाको संसद्मा पहिलो महिला सांसद् निर्वाचित
संयुक्त राज्य अमेरिकाको संसद्मा पहिलो महिला सांसद सन् १९३२ जनवरी १२ मा निर्वाचित भएकी थिइन्। सन् १८७८ फेब्रुअरी १ मा जन्मिएकी हाटी ओफेलिया कारावे आरकानससबाट क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
जेफ बेजोसको जन्म
अमेरिकी व्यवसायी जेफ बेजोसको सन् १९६४ जनवरी १२ मा जन्म भएको थियो। अमेजन डटकमका संस्थापकसमेत रहेका बेजोसले ई-वाणिज्य क्षेत्रको उत्थानमा ठूलो भूमिका खेलेका छन्।