इस्तानबुल- टर्कीले नेपालमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेको भन्दै यात्रा नयाँ यात्रा निर्देशिका जारी गरेको छ। भारतको नयाँ दिल्लीस्थित टर्कीको दूतावासले ट्विट गर्दै नेपाल र भारतबाट टर्की जाने यात्रुका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका जारी गरेको हो।
उक्त निर्देशिका जनवरी १०, २०२२ देखि लागु हुने जनाइएको छ। विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोनाविरुद्धको खोपको १४ दिनअघि दुबै डोज र जोन्सन एण्ड जोन्सनको एक डोज लगाएका यात्रुहरुलाई भने क्वारेन्टाइन आवश्यक नपर्ने बताइएको छ।
टर्की यात्रा गर्दा ७२ घण्टा पहिलाको कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने उक्त निर्देशिका उल्लेख गरिएको छ। उक्त रिपोर्ट पेश नगर्ने यात्रुलाई पाँच दिन क्वारेन्टाइन बस्नुपर्ने र पाँच दिनपछि पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै घुमिफिर गर्न पाइने भएको छ।
१२ वर्षभन्दा कम उमेरका बालबालिका लागि भने क्वारेन्टाइन र खोप सर्टिफिकेट आवश्यक नपर्ने बताइएको छ।