आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथामका लागि उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

कोरोना रोकथामका लागि उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण)लाई रोक्न काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन्। 

तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो। आदशे उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ। 

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृहमन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश दिइएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। उक्त आदेश आज राति १२ बजेदेखि लागू हुनेछ। 

आदेशानुसार घर बाहिर निस्कँदा वा सार्वजनिकस्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न उपत्यकावासीमा आह्वान गरिएको छ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ। अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति आवश्यक पर्ने गरी आदेश जारी भएको छ।  

आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान (होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने उल्लेख छ। माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरिएको छ। शिक्षा मन्त्रालयको निर्देशनबमोजिम माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाई जेड आकारमा बसाई व्यवस्थापन गर्न आदेश दिइएको छ। 

सार्वजनिक सेवा प्रवाहमा चाप हुने कार्यालयमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर काम गर्न भनिएको छ।  जिल्लाभित्रका निजी स्वास्थ्य संस्था र स्थानीय तहलाई विगतमा तयार पारिएको उपचार र आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन आदेश दिइएको छ। अक्सिजन सिलिण्डर आपूर्ति सहज बनाउन, कोरोनाको दोस्रो लहरमा प्रयोग भएका सिलिण्डर अस्पताल, उद्योग र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ। सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको  छ। 

कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ। अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ। यस्तै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ।

प्रकाशित: Jan 11, 2022| 20:32 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।