नाइजेरिया- उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको ६ महिनापछि उद्धार गरिएको छ। उनीहरुलाई ६ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो। त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए।
ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो।प्रहरी टोलीको छ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ।
केबेइ प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले सो कुराको जानकारी दिए। उनले आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले लामै समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताए।
उनले भने, 'नाइजेरियामा पछिल्लो समयमा यहाँका हतियारधारी आतंककारीहरुले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन्।' विद्यालयको सुरक्षाका लागि पनि प्रहरीले विशेष सुरक्षा दस्तावेज तयार पारेको बताएको छ।