बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आमाबाबुसँग काबुलमा छुट्टिएका दूधे बालक महिनौंपछि यसरी भेटिए

आमाबाबुसँग काबुलमा छुट्टिएका दूधे बालक महिनौंपछि यसरी भेटिए

१९ अगस्टको दिन थियो त्यो। काबुलस्थित हमिद करजाइ विमानस्थलमा तीलको गेडासमेत राख्ने ठाउँ थिएन। हजारौं मानिसको भागदौड थियो विमानस्थलमा।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– अफगानिस्तानमा गत वर्षको अगस्टमा मच्चिएको कोलाहलका बीच धेरै अफगानी आफ्नो देश छोडिरहेका थिए। राजधानी काबुल प्रवेश गरिसकेको थियो तालिबान। काबुल विमानस्थलमा देश छाड्नेहरुको भीड थियो। मानिसहरु जहाजको पंखामा समेत चढेको तस्बिर र भिडियो सार्वजनिक भएको थियो। त्यही भीडमा हराएको एक बच्चाको कथा हो यो। 

१९ अगस्टको दिन थियो त्यो। काबुलस्थित हमिद करजाइ विमानस्थलमा तीलको गेडासमेत राख्ने ठाउँ थिएन। हजारौं मानिसको भागदौड थियो विमानस्थलमा। 

त्यही भीडमा आफ्नो परिवारका साथ मिर्जा अहमदी पनि थिए। उनी काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डको काम गर्थे। उनी पत्नी सुरैया र ५ बच्चालाई लिएर एयरपोर्टभित्र जाने कोसिस गरिरहेका थिए। दुई महिनाका बच्चा सोहेल आफ्नी आमाको काखमा थिए।  

अहमदी र उनकी पत्नीलाई आफ्ना पाँच सन्तान सम्हाल्न गाह्रो भइरहेको थियो। त्यहीबीचमा उनीहरुले सबैभन्दा सानो बच्चालाई एक बर्दीधारी सैनिकलाई समात्न दिए। तिनले अमेरिकी सैनिकको बर्दी लगाएका थिए। एयरपोर्टभित्र छिर्नेबित्तिकै आफ्नो बच्चा लिइहाल्ने भनेर उनीहरुले सैनिकलाई एकैछिनको लागि समात्न दिएका थिए। 

तर, उनीहरुले सोचेजस्तो भएन। भागदौड मच्चिँदा उनीहरुले आफ्नो बच्चा समात्न दिएका सैनिक आँखाबाट ओझेल परे। जसोतसो उनीहरु एयरपोर्टभित्र त छिरे, तर त्यहाँ न ती सैनिक थिए न त बच्चा नै। उनीहरुले यताउता खोजे तर कतै भेट्टाएनन्। 

मिर्जाको परिवार अमेरिका जाने विमानमा पसे। उनीहरुलाई आश थियो, आफ्नो बच्चालाई पनि बर्दीधारी सैनिकले सोही विमानमा राखिदिएको हुनसक्छ। 

मिर्जाको परिवार टेक्सासमा उत्रियो। विमानमा दूधे बालक सोहेल थिएनन्। महिनौंसम्म पनि उनको बारेमा केही थाहा हुन सकेन।

सोहेल अहमदीलाई एयरपोर्टमा भेटाएका हमिद सैफी र उनकी पत्नी

चार महिनापछि नोभेम्बरमा समाचार एजेन्सी रोयटर्सले हराएको बच्चाको बारेमा समाचार छाप्यो। त्यसपछि पत्ता लाग्यो– हराएको बच्चा एक ट्याक्सी ड्राइभरको घरमा छ। २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद सैफीका अनुसार उनले सोहेललाई एयरपोर्टमा भेटेका थिए जमिनमा रोइरहेको अवस्थामा। हमिदले बच्चाका बाबुआमालाई खोज्ने प्रयास त गरे, तर केही पत्ता लागेन। त्यसपछि उनले बच्चा आफ्नो घरमा लगे र आफ्नै छोरालाई जस्तै पालनपोषण गर्ने निधो गरे। उनीहरुले बच्चाको नाम पनि राखे– मोहम्मद आबिद। अनि आफ्नो अर्को बच्चासँगै फोटो खिचेर फेसबुकमा पोस्ट गरे। 

चार महिनापछि सोहेलको बारेमा खबर आएपछि उनका हजुरबा लिन गए। 

लामो यात्रा गरेर दुर्गम अफगानिस्तान पुगेका हजुरबालाई हमिदले बच्चा दिन मानेनन्। हजुरबाले जिद्दी गरेपछि उनले शर्त राखे– मेरो परिवारलाई पनि अमेरिका लैजाने हो भनेमात्र बच्चा दिन्छु। बच्चाका हजुरबाले कसरी अमेरिका लैजान सक्थे र ती ट्याक्सी ड्राइभरलाई। ठूलै गलफती भएपछि प्रहरीले हस्तक्षेप गर्नुपर्यो। हमिदलाई नियन्त्रणमा लियो प्रहरीले। सँगै दुई पक्षबीच वार्ता पनि गराइदियो। कैयौं हप्ताको वार्तापछि बल्ल ती ड्राइभरले सोहेललाई उनका हजुरबाको जिम्मा लगाउन तयार भए। 

हराएको बच्चा भेटिए पनि उनी अहिलेसम्म अमेरिका जान पाएका छैनन्। आफ्ना बुबाआमाको काखमा बस्न पाएका छैनन्। हजुरबाले मात्र उनलाई भेटेका हुन्। 

अफगानिस्तानमा अझै सबै कुरा अनिश्चित छ। त्यहाँ अमेरिकी दूतावास पनि छैन। अन्य अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि काम गर्न गाह्रो छ। यस्तो अवस्थामा सोहेललाई अमेरिका लैजान सहज छैन। अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले रोयटर्ससँग भने, ‘मिर्जाको परिवारलाई एक बनाउन हामी कोसिस गरिरहेकै छौं।’

प्रकाशित: Jan 10, 2022| 15:45 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।