काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई दिइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि प्राधिकरणका उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी सुम्पेको हो। प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको शुक्रबार ५८ वर्षिय हदका कारण अवकाश भएपछि महानिदेशकको पद शुक्रबारदेखि रिक्त भएको थियो।
क्षेत्रीले भने चार वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने दाबी गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। क्षेत्रीको रिटमा शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
मुद्दाको सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यही पुस ३० गते सम्बन्धित पक्षलाई छलफलमा बोलाएको छ। मन्त्रालयले अदालतको आदेश पत्र दर्ता हुनुअघि ठाकुरलाई निमित्तको जिम्मेवारी दिएको जनाएको छ। अदालतबाट अन्तिम आदेश आएपछि महानिर्देशक तोक्ने सरकारको तयारी छ।