काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि कडाइ गर्न थालिएको छ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने निर्णय गरेको हो।
सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार खोप कार्ड नभएका व्यक्तिहरुले ती स्थानमा प्रवेश पाउने छैनन्।
खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय सीसीएमसीले गरेको प्रवक्ता नेपालले बताइन्। यो निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।
पछिल्लो दिनमा कोभिड–१९ संक्रमणमा वृद्धि भएपछि सरकारले भीडभाड हुने ठाउँलाई नियन्त्रण गर्न यस्तो नियम ल्याएको हो। सीसीएमसीले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइएको छ।
त्यसैगरी माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णयसमेत सीसीएमसीले गरेको छ।