काठमाडौं - कोरोना भाइरसको संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले गरेको छ।
सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो।
अझै पनि नागरिकलाई खोप पुग्न नसकेको र धेरै ठाउँमा विद्यार्थीहरुलाई नै खोप लगाउन नसकिएको अवस्थामा कोरोना संक्रमणबाट जोगिनका लागि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता नेपालले बताइन्।
उनले भनिन्, 'कोरोनाको बढ्दो दरलाई ख्याल गर्दै व्यवस्थापन समन्वय केन्द्रको बैठकले यस्तो निर्णय लिएको हो। जोखिम हेरेर त्यसलाई एक महिनासम्म लैजान सकिन्छ।'
सीसीएमसीको निर्णय अब मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ। कोभिड-१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो। तर, सीसीएमसी बैठकको निर्णयलाई भने मन्त्रिपरिषद्मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ।
उपत्यकासहित देशका धेरै स्थानमा अहिले आन्तरिक परीक्षा चलिरहेको छ। परीक्षा सकिएका विद्यालयले कम्तीमा एक साता बिदा दिइसकेका छन्। यो पटक धेरै विद्यालयले पुस मसान्तबाट जाडो बिदाको तयारी गरेका छन्।