महोत्तरीको दुर्गम गाउँ– सूर्यायी! सामान्य बस्ती। खर र टायलले छाएका घर। त्यही बस्तीको एउटा परिवारमा जन्मिएका हुन् डा. राजीव झा। परिवार सामान्य भए पनि छोरा राजीवमा सपनाको ठूलो नक्सा कोरिएको थियो। सोही नक्सामा अघि बढ्दै राजीवले यति बेला विशेषज्ञ न्युरो सर्जनका रुपमा पहिचान मात्र बनाएका छैनन् १५ हजारभन्दा बढी बिरामीका नसा जोडेर ख्याति कमाएका छन्। राजीवले मेडिकल क्षेत्रमा कसरी उत्कृष्टता हासिल गरे त?
पहिला राजीवको गाउँको चर्चा गरौं। सूर्यायीमा अझै अस्पताल छैन। उनको जन्म घरमै एउटा गोठमा भयो। आमाले साटेको दुःख सम्झँदै राजीव भन्छन्, ‘हामी त गोठमै जन्मिएको रे! मेरी आमालाई हामी दुई भाइ गर्भमा छौं भन्नेसम्म थाहा रहेनछ। म जन्मिएको आधा घण्टापछि फेरि बेथाले च्यापेछ । अनि मात्रै सबैले आमाको गर्भमा दोस्रो सन्तान रहेको थाहा पाए रे!’
अहिले आमाले भनेको अतीत सम्झिँदा उनलाई मिठो लाग्छ। तर, त्योभन्दा बढी तितो पनि। किनकि राज्यको नजर आफ्नो बस्तीमा अझैसम्म पर्न नसक्दा उनी निराश हुन्छन्। उनको बाल्यकालको केही समय सूर्यायीमै बित्यो। उनी भन्छन्, ‘गाउँमा जाने सडक थिएन। खेतको बीचैबीच साइकल चलाउनुपथ्र्यो। बिरामी हुँदा खेतबाटै बयडगाडा कुदाउँदै अस्पताल पुग्नुपर्थ्यो। गाउँको अवस्था अझै पनि फेरिएको छैन।’
राजीवका दुई दाजुभाइ दुई दिदीबहिनी। खानै नपुग्ने परिवार होइन। तर, आर्थिक अवस्था सबल पनि थिएन। ठिक्कको दैनिकीबाट बचेको पैसाले एक छोरालाई डाक्टर र अर्कोलाई इन्जिनियर बनाउने सोचेका थिए राजीवका बुवाले। सरकारी जागिरे उनलाई त्यो सपना पूरा गर्न अक्करे पहाड उक्लिनु जत्तिकै कठिन थियो।
बुवाको कहिले कता कहिले कता सरुवा भइराख्थ्यो। एकपटक सुनसरीको तररामा सरुवा भयो। परिवार पनि उतै गयो। तररा नजिक स्कुल थिएन। त्यसैले उनले घरमै बालबालिकालाई शिक्षा दिने व्यवस्था मिलाए।
राजीवका दाजुभाइ अलि ठूलो भइसकेपछि इटहरीको एउटा स्कुलमा कक्षा चारमा भर्ना भए। बसेको ठाउँबाट स्कुल टाढा थियो। आधा घण्टा लगाएर बसमा उनीहरू दिदीसँगै स्कुल जान्थे। राजीवले आठ कक्षासम्म त्यहीं पढे। बुवाको सरुवा जनकपुरमा भएपछि उनीहरू त्यहींको एउटा स्कुलमा भर्ना भए।
जनकपुरमा उनलाई भाषामा निकै समस्या भयो। परिवारमा सबै नेपाली बोल्थे। स्कुलमा शिक्षकले मैथिली बोल्ने। ‘हामीलाई मैथिली भाषा त्यति आउँदैनथ्यो। त्यसैले जनकपुरमा हामीलाई पहाडिया भने’, उनी सम्झिन्छन्। उनले त्यतैबाट एसएलसी दिए।
स्कुल पढ्दा कहिले कता कहिले कता भर्ना भएका राजीव काठमाडौं आएपछि त्रिचन्द्र कलेजमा भर्ना भएर विज्ञान पढ्न थाले। उनको लक्ष्य बन्यो चिकित्सिक बनेर सेवा गर्ने।
एसएलसी पास भइसकेपछि उनका बुवाले दुवै छोरालाई काठमाडौं पठाए उच्च शिक्ष अध्ययनका लागि। स्कुल पढ्दा कहिले कता कहिले कता भर्ना भएका राजीव काठमाडौं आएपछि त्रिचन्द्र कलेजमा भर्ना भएर विज्ञान पढ्न थाले। उनको लक्ष्य बन्यो चिकित्सिक बनेर सेवा गर्ने।
चिकित्सा शिक्षा र इन्जिनियरमा निकै थोरै सिट थियो। प्रतिस्पर्धा बढी हुनु स्वाभाविकै भयो। दाजुभाइले कलेज पढ्दै विभिन्न ठाउँमा प्रवेश परीक्षा दिन थाले। कोलम्बो प्लानअन्तर्गत फरकफरक देशमा अध्ययनका लागि आवेदन भर्न पनि पाइन्थ्यो। सन् १९९१ बंगलादेश र रुसबाट चिकित्सा शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि विज्ञापन आह्वान गरियो। उनलाई चिकित्सा शिक्षा अध्ययनका लागि बंगलादेश जान मन थियो। तर, शुल्क महँगो भएकाले बंगलादेश जान सकेनन्। रुसमा शुल्क सस्तो थियो। उनका बुवाले पनि छोरा त्यति जाओस् भन्ने चाहे।
रुसमा पढ्न जान तयार भए। तर रुसमा पढाइ पनि रुसी भाषामै हुन्थ्यो। सुरुमा भाषामा निकै समस्या भयो। राजीवले हिम्मत हारेनन्। त्यहाँका राम्रा कुरालाई आत्मसात् गर्दै चिकित्सा शिक्षा अध्ययन सकेर नेपाल फर्किए। उनले वीर, कान्ति, प्रसूति गृहलगायत अस्पतालमा इन्टर्नसिप गरे। रुसमा पढेकाले अंग्रेजीमा रहेका चिकित्सासँग सम्बन्धित शब्द बुझ्न गाह्रो हुन्थ्यो। शब्दकोशको सहायता लिएर काम गर्न थाले। बिस्तारै उनलाई अंग्रेजीमा पनि पोख्त बनायो। उनी भन्छन्, ‘भाषाको ठूलो महत्त्व रहेछ।'
राजीवले रुसको तिब्यर मेडिकल स्टेट एकेडेमीमा पढेका हुन्। ‘त्यहाँ निकै सुविधा छ। नेपालमा त अस्पताल क्षेत्रमा त्यस्तो सुविधा सय वर्षसम्म पनि नहोला’, उनले भने। वर्षमा आठनौ महिना हिउँ पथ्र्यो। तापक्रम माइनसमा ४२ सम्म जान्थ्यो। घरबाहिर हिउँ मात्रै देखिन्थ्यो। ती दिन सम्झन्छन्, ‘भोल्गा नदीमा जमेको पानीमाथि वारपार गर्दा अति रमाइलो हुन्थ्यो।’
रुसमा अध्ययन गर्दा महिनाको १५ सय लडर लाग्थ्यो। दुई सय डलर वर्षभरि खानका लागि बचाउनुपथ्र्यो। त्यसले सामान्य खानेकुरा मात्रै किन्न पुग्थ्यो। अरु साथीहरू महिनाकै दुई सय डलर खर्च गर्थे। भाइ अमेरिकामा पढ्थे। रुसमा दुई महिना बिदा हुन्थ्यो। डा. राजीव त्यो समयमा अमेरिका जान्थे। त्यहाँका मेडिकलमा काम गरेर कमाउँथे। त्यसरी पढ्दा घरपरिवारमा पनि आर्थिक भार कम हुन थाल्यो।
पोखरेलबाट नै डाक्टर देवकोटाले तानेको भन्ने सुनेपछि उनलाई खुसी र डर दुवै लाग्यो। ‘मलाई के देखेर तान्नुभयो भनेर खुसी लाग्यो। साथीहरूले भनेझैं दुःख पाइने हो कि भनेर डर पनि लाग्यो,’ उनी ती दिन सम्झन्छन्।
राजीवले आत्मविश्वास र संघर्ष ठूलो कुरा हो सिकेका छन्। उनले यो सफलता पाउन दुई तीन गुणा बढी मिहिनेत गर्नुपर्यो। त्यही संघर्षले चिकित्सा क्षेत्रमा अब्बल न्युरो सर्जन बनाइदियो। यति बेला डा. राजीव राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ स्नायु रोग विशेषज्ञ एवं स्नायु विभाग प्रमुख छन्। दुई छोराको गुण बुझेर उनका बुवाले राजीवलाई विज्ञान पढ्न लगाए। उनका भाइले म्याथम्याटिक्स फिजिक्सतिर अध्ययन गरे। उनका भाइ सञ्जीव अमेरिकामा आईबीएम कम्पनीमा डाटाएनलाइटिकका रुपमा कार्यरत छन्। एमबीबीएस सकेपछि राजीवका पाइला विशेषज्ञतिर लम्किए। एमएस जनरल सर्जरी गर्ने सोच बनाए। उनले त्यसको कोर्स पनि पूरा गरे। आम्दानी राम्रै हुन्थ्यो तर राजीवले न्युरो सर्जन रोजे।
कसरी बने डा. राजीव न्युरो विशेषज्ञ?
उनको न्युरो सर्जन बन्दाको कथा भने रोचक छ। एमबीबीएस गरेर वीर अस्पतालमा काम गर्दै गर्दा हरेक विभागमा पालो पथ्र्यो। त्यही बेला हो डाक्टरले आफू कुन विषयको स्पेस्लिस्ट बन्ने भनेर निर्णय गर्ने। सन् २००० सेप्टेम्बरमा डा. राजीव इमर्जेन्सीमा कार्यरत थिए।
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा नेतृत्वमा पवन सुल्तानिया, डा. पवनरमण सिंह, डा. प्रकाश विष्टजस्ता डाक्टर राउन्डमा आउँथे। डाक्टर देवकोटाको शैली र स्मार्टनेसले राजीवलाई तानेको थियो। उनलाई डा. उपेन्द्रको ‘डिस्कर्सन’ गर्ने, पढाउने कला मन पथ्र्यो। राजीव भन्छन्, ‘उहाँको कडा नियमले पनि तान्थ्यो। राउन्डमा आउँदा बिरामीको सबै अपडेट लिने उहाँको शैली गजबको थियो।’ त्यही बेला डा. राजीवलाई सरुवाको पत्र आयो। उनी न्युरो सर्जरीमा सरुवा भए।
डा. उपेन्द्रको कमान्डमा न्युरो सर्जरीमा जान जोकोहीले निकै अप्ठ्यारो मान्थे। धेरैले अब राजीवले पनि दुःख पाउने भयो भने। उनले अस्पतालका डाइरेक्टर डाक्टर दामोदर पोखरेललाई भटेर सरुवा रद्द गर्न अनुरोध पनि गरे। तर, पोखरेलबाट नै डाक्टर देवकोटाले तानेको भन्ने सुनेपछि उनलाई खुसी र डर दुवै लाग्यो। ‘मलाई के देखेर तान्नुभयो भनेर खुसी लाग्यो। साथीहरूले भनेझैं दुःख पाइने हो कि भनेर डर पनि लाग्यो,’ उनी ती दिन सम्झन्छन्।
काम गर्दा भने उनले उपेन्द्र देवकोटाको व्यवहार निकै फरक पाए। झाले देवकोटाको कार्यशैलीबाट मात्र भएनन् सेमिनारमा सहभागिता, कार्यपत्र प्रस्तुति, रिसर्र्च, रिसर्च पेपर प्रकाशन लगायतका धेरै ज्ञान सिके।
नेपालमै सेवा गर्ने हुटहुटी
डा. राजीवलाई अमेरिका, भारतलगायत देशबाट काम गर्ने प्रस्ताव नआएको होइन। तर, उनी नेपालमै रहेर त्यो पनि सरकारी सेवामै रहेर काम गर्न रुचाउने बताउँछन्। ‘गरिब जनताको सेवा गर्नु जति आनन्द अरू कहाँ छ र? धनीले त सुविधासम्पन्न अस्पतालमा उपचार गर्छन्। सबैले पढेर पैसाकै पछि मात्र दौडिने हो भने गरिब जनताले कहिले गुणस्तरीय उपचार सेवा पाउने?’ उनले भने।
न्युरो सर्जरी पढ्दापढ्दै भारतको न्युरो सर्जरीको हेड अफ द डिपार्टमेन्टले नेपालको एक जना डाक्टरलाई इमेल गरेर राजीवलाई बोलाए। राजीवले मेदान्तमा ६ महिना काम गरे। उनले इन्डियन मेडिकल काउन्सिलको लाइसेन्स पनि लिएका छन्। उनलाई मेदान्तामै बस्न आग्रह नभएको होइन। त्यो अवसरलाई नकारे। ‘म नर्भिकमा पनि काम गर्छु। त्यहाँबाट खानलाउन पुग्ने आम्दानी भएकै छ। यता बसेर दिइरहेको छु। यसले मलाई ठूलो आत्मसन्तुष्टि दिएको छ’, उनले भने। स्वदेशमा रहेर सेवा गर्न पाएकोमा आफूलाई निकै भाग्यशाली ठान्छन् उनी। उनी भन्छन्, ‘यहाँ काम गर्दाको सन्तुष्टि बेग्लै छ। सन्तुष्टि त किन्न पाइँदैन नि।’
राज्यसँग दुखेको राजीवको मन
स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा सरकार गम्भीर हुन नसकेको उनी बताउँछन्। सरकारले आफ्नो दायित्व जिम्मेवारपूर्ण रुपमा पूरा गर्न नसकेको उनी बताउँछन्। सरकारी अस्पतालमा मोनिटरिङ सिस्टम नरहेको राजीवको बुझाइ छ। कार्यसम्पादन मूल्याङ्कन फाराम आफैंले भर्नुपर्ने अवस्था छ। अस्पताल जस्ता क्षेत्रमा राजनीति घुसेकोमा उनलाई चित्त बुझेको छैन। देशमा उचित मूल्याङ्कन गरेर पुरस्कृत वा सम्मानित गरिने भन्दा पनि नेताहरू आसपासमा घुम्नेहरूले पाउने गलत संस्कारको उनी विरोध गर्छन्।
उनी विभिन्न देशबाट ठूला–ठूला अवार्डबाट सम्मानित भएका छन्। अमेरिकाबाट दिइने कोकर्ड इन्टरनेस्नल फेलोसिप अवार्ड, वर्ड फेड्रेसन अफ न्युरोलोजिकल सर्जन्सको अवार्ड प्राप्त गरेका छन्।
जसले १५ हजारका चुँडिएका नसा जोडे
डा. राजीवले वीरमा काम गरेको २१ वर्ष भयो। उनले यस अवधिमा १५ हजार जनाका चुँडिएका नसा जोडिसकेका छन्। अर्थात् २१ वर्षे करियरमा १५ हजार जनाको सर्जरी गरेका छन्। उनले दिनकै सातवटा शल्यक्रिया गर्छन्। र, वर्षमा सात/आठ सयवटा मेजर सर्जरी गर्ने गरेका छन्। कुनै बेला निकै च्यालेन्जिङ केस आउँदा डा. राजीव प्रेसरमा हुन्छन्। टाउको फुटेर ह्वालह्वाल्ती रगत बगिरहँदा तुरुन्त रगत नरोके ज्यान जाने भएकाले उनी निकै तनाव पनि महसुस गर्छन्।
उनीसँग अप्रेसन गरेर ज्यान जोगाउन नसकेका तिता पल त कति छन् छन्। केही दिनअगाडि मात्रै मोटरसाइकल दुर्घटनामा परेका एक जना घाइते अस्पताल आए। तर ती घाइते राजीवले चाहेर पनि बचाउन सकेनन्। त्यस्ता कुराले उनलाई दिनभर छुन्छ। उनकी पत्नी पनि मेडिकल डाक्टार हुन्। घरमा पनि उनीहरूबीचमा त्यस्तो संवाद हुन्छ। राजीवन भन्छन्, ‘त्यस्तो अवस्थामा आफूलाई नै परिवारको सदस्य बनाएर हेरिन्छ। दुःख महसुस गरिन्छ। त्यो भनेको अपनत्व हो। त्यस्तो भए मात्रै राम्रो सेवा दिन सकिन्छ।’
उनको जीवनमा उपचार गर्दाका खुसीका पल पनि धेरै छन्। प्रत्येक दिन आफूले सक्दो सहयोग र राम्रो उपचार गर्ने धाउन्नामा हुन्छन् उनी। ‘शल्यक्रिया गरेका प्रत्येक बिरामीले पुनर्जन्म पाउँदा बडो आनन्द आउँछ’, राजीवले भने।
यस्तो छ डा. झाको जीवनशैली
परिवारमा बुवा, पत्नी डाक्टर कुमकुम झा र दुई छोरा छन्। उनको जीवनशैली व्यस्त छ। तर त्यसलाई उसले राम्ररी व्यवस्थापन गरेका छन्। पेसागत धर्म पूरा गर्दै पारिवारिक जीवनलाई सँगसँगै लैजाँदा खुसी मिल्ने उनको अनुभव छ। 'डाक्टर आफैँमा व्यस्त पेसा हो, त्यसैमाथि स्नायु शल्य चिकित्सकको व्यस्तता झनै बढी हुने गर्छ।' नेपालमा न्युरो सर्जन सीमित छन्। जसका कारण तोकिएको समय काम गरेर बाँकी समय ढुक्कसँग बस्न सक्ने अवस्था छैन उनीहरुलाई। 'घरमा समय बिताउनु हाम्रा लागि एकदमै दुर्लभ हुन्छ। बिहान साढे ५ बजेदेखि सुरु भएको मेरो जीवनशैली छिटोमा रातिको ९ बजे र शल्यक्रिया भएको दिन त भोलिपल्ट बिहानको २र३ बजेसम्म पनि जारी रहन्छ', उनी भन्छन्।
राजीव सामान्यतया साढे ५ बजेदेखि ६ बजेभित्र उठिसकेका हुन्छन्। ४५ मिनेटजति व्यायाम गर्छन्। ढिलोमा साढे ७ बजेसम्ममा उनी अस्पताल पुगिसकेका हुन्छन्। उनी भन्छन्, बिहान साढे ७ बजे निजी अस्पतालमा पुग्छु। त्यहाँ ९ बजेसम्म बसेपछि वीर अस्पताल र ट्रमा सेन्टर पुग्छु। वीरमा उनी कम्तीमा साँझ ५ बजेसम्म व्यस्त हुन्छन्। त्यसपछि उनी फेरि निजी अस्पतालमा पुग्छन्।