काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गएको दाबी गरेका छन्।
पतञ्जली जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आज रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले ओली बदलाको भावनाले चलेको प्रतिक्रिया दिए।
उनले भने, 'केपी ओलीको निर्देशनमा मुद्दा दर्ता भएको हो। उहाँ मेरो विरुद्धमा सुरुदेखि नै लाग्नुभएको हो । मेरो राजनीतिक करियर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि यस्तै किसिमले पटक पटक कोसिस गर्नुभएकै हो । उहाँ बदलाको भावनाबाट चल्नुहुन्छ ।' उनले आफूले भ्रष्टाचार नगरेको र कसैलाई पनि भ्रष्टाचार गर्न आदेश दिने काम पनि नभएको बताए।
आजमात्रै अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। उनीविरुद्ध साढे १८ करोडभन्दा बढी मागदाबी गरिएको छ।