काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन जारी गर्दै आयातित वस्तुलाई निरुत्साहित गर्ने नीति लिएको हो। सोमबार बैंक तथा वित्तीय संस्थाको नाममा जारी निर्देशन अनुसार आयातकर्ताले वस्तुको आयातमा प्रतिशत नगद मार्जिन राख्नु पर्ने भएको छ।
राष्ट्र बैंकले एचएसकोड ०९०७ अन्तरगतका वस्तु आयात गर्न आयातकर्ताले सय प्रतिशत नगद मार्जिन राख्नुपर्ने निर्देशनमा उल्लेख गरेको छ। त्यस्तै एचएस कोड १७, २२, २४, ३३०३, ३३०४,३३०५, ४४, ६४ अन्तरगतका वस्तु आयातका लागि पनि सतप्रतिशत नगद मार्जिन राख्नुपर्ने उल्लेख गरेको छ।
त्यस्तै एचएसकोड ६५, ६६, ६७, ६८, ६९, ७०१०, ७१०६, ९४०४, ९५०४, र एचएस कोड ४० अन्तरगतका वस्तु आयात गर्दापनि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो। उक्त एचएस कोड अन्तरगतका वस्तु उद्योगिक प्रयोजनका लागि कच्चा पदार्थको रुपमा आयात गर्दा लागु नहुने पनि निर्देशनमा उल्लेख गरिएको छ।
नेपाल राष्ट्र बैंकले एचएस कोड ८७०३ र ८७११ अन्तरगतका वस्तु आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने उल्लेख गरेको छ। उक्त एचएस कोड अन्तरगत चारपांग्रो र दुई पांग्रे सवारी पर्दछन्। विद्युतीय सवारीमा भने सो कुरा लागू नहुने उल्लेख गरिएको छ।
अन्य एचएस कोड अन्तरगत भने फलफुल, तरकारी, चिनी, ल्वाङ, विभिन्न कस्मेटिक सामान, जुत्ताचप्पल, सुर्तिजन्य वस्तु लगायतका पर्दछन्। ती वस्तुका कच्चा पदार्थको आयातमा भने सतप्रतिशत नगद मार्जिन अनिवार्य नभएको राष्ट्र बैंकले उल्लेख गरेको छ। यसरी सतप्रतिशत नगद मार्जिन कार्यान्वनमा आएपपछि आयात निरुत्साहित हुनेछ।