बिहीबार, असोज १५, २०८३

रोनाल्डोले छाडे पोर्चुगलको राष्ट्रिय टिम

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं- क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका छन्। टोलीका प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै विवाद नरहेको बताएपछि उनले आफूले शिविर छाड्नुको कारण समय आएपछि सार्वजनिक गर्ने बताएका छन्।

यसअघि पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो। तर जेसुसले रोनाल्डो र आफूबीच कुनै विवाद नभएको स्पष्ट पारेका थिए।

रोनाल्डोले यसै वर्षको विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनेबारे सोच बनाएको भए पनि आफ्नो खेलजीवनमा १ हजार गोल पूरा गर्ने लक्ष्यका कारण निरन्तरता दिने निर्णय गरेका थिए। उनी यसपटकको अन्तर्राष्ट्रिय विश्रामका लागि जेसुसले घोषणा गरेको २५ सदस्यीय टोलीमा परेका थिए र वेल्सविरुद्धको पहिलो राष्ट्रसंघीय खेलमा सुरुवाती टोलीमै खेलेका थिए।

तर आइतबार ओस्लोमा नर्वेविरुद्ध पोर्चुगल २–१ ले विजयी हुँदा रोनाल्डो मैदानमा उत्रिएनन्। खेल सकिएपछि उनी आफ्ना सहकर्मीसँग दर्शकतर्फ जानुको सट्टा सिधै खेलाडी परिवर्तन गर्ने कक्षतर्फ गएका थिए। त्यसपछि उनी प्रशिक्षकसँग असन्तुष्ट रहेको समाचारहरू आएका थिए। डेनमार्कविरुद्ध आजराती हुने नेसन्स लिगको खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै जेसुसले रोनाल्डोसँग कुनै घटना नभएको बताए। उनले लामो समयसम्म खेलमा प्रवेश गर्ने तयारी गरेर पनि मैदानमा खेल्न नपाउँदा कुनै पनि खेलाडी खुसी नहुने बताएका थिए।

जेसुसका अनुसार नर्वेविरुद्धको खेलअघि नै उनले रोनाल्डोलाई सुरुवाती टोलीमा नराख्ने र आवश्यक परेपछि खेलाउने जानकारी दिएका थिए। तर पछि आफूले उनलाई मैदानमा नउतार्ने निर्णय गरेको जेसुसले बताए।

रोनाल्डोले मंगलबार प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेको भन्ने समाचार पनि जेसुसले खारेज गरेका थिए। उनका अनुसार रोनाल्डोले शारीरिक चलायमानता र बलियो बनाउने अभ्यास गर्नुपर्ने भएकाले छुट्टै अभ्यास गरेका थिए र बुधबार नियमित रूपमा टोलीसँग प्रशिक्षण गर्ने योजना थियो।

तर डेनमार्कमा पोर्चुगलको टोली मैदानमा अभ्यास गरिरहेका बेला रोनाल्डो सहकर्मीसँग देखिएनन्। पोर्चुगलका सञ्चारमाध्यमले उनलाई पार्केन रंगशालाबाट टोलीका दुई कर्मचारीसँगै बाहिरिँदै गरेको भिडिओ सार्वजनिक गरेका थिए। त्यसपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेको घोषणा गरेका थिए। उनले पोर्चुगल फुटबल महासंघका अध्यक्षसँग कुराकानी गरेपछि टोली छाड्ने निर्णय गरेको र आफूले छाड्नुको कारणबारे समय आएपछि पोर्चुगलका नागरिकलाई सत्य बताउने उल्लेख गरेका छन्।

उनले आगामी खेलका लागि आफ्ना सहकर्मीलाई शुभकामना पनि दिएका छन्। नर्वेविरुद्ध पोर्चुगलको जितमा गोन्कालो रामोसले निर्णायक गोल गरेका थिए। जेसुसले डेनमार्कविरुद्ध पनि रामोसलाई रोनाल्डोभन्दा प्राथमिकता दिने संकेत गरेका थिए। उनले आवश्यक परे रोनाल्डोलाई मैदानमा उतार्ने, आवश्यकता नपरे नउतार्ने बताएका थिए। पोर्चुगल फुटबल महासंघले पनि रोनाल्डोले प्रशिक्षण शिविर छाडेको पुष्टि गरेको छ। महासंघका अनुसार डेनमार्क र नर्वेविरुद्ध हुने दुई खेलका लागि बाँकी २४ खेलाडीले पूर्वनिर्धारित योजनाअनुसार तयारी जारी राख्नेछन्। टोलीको सम्पूर्ण ध्यान आगामी खेल र निर्धारित लक्ष्य हासिल गर्नमा केन्द्रित रहेको महासंघले जनाएको छ।

यसैबीच रोनाल्डोकी बहिनी एल्मा एभेइरोले सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै रोनाल्डोले अझ बढी सम्मान पाउनुपर्ने बताएकी छन्। उनले सन्देशमा भनकी छन्- 'क्रिस्टियानो रोनाल्डोले अझ बढी सम्मान पाउनुपर्ने थियो। राष्ट्रिय टोलीले अझ व्यवस्थित संरचना पाउनुपर्ने थियो।’ त्यस्तै, पोर्चुगलका सञ्चारमाध्यमले पनि बढी जिम्मेवार र सक्षम पत्रकारिता गर्नुपर्ने र अनुमानमा आधारित समाचारलाई कम प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

सन्देशमा पोर्चुगलका नागरिकप्रति भने कडा टिप्पणी गरिएको छ। ‘पोर्चुगलका मानिसहरू कुनै पनि क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई स्वीकार गर्न योग्य छैनन्। हामी ईर्ष्यालु, तिरस्कारपूर्ण र अज्ञानी छौँ,’ सन्देशमा भनिएको छ। त्यसमा रोनाल्डोको आगमनअघि पोर्चुगलको फुटबलमा रहेको औसत अवस्थामै देश फर्किनुपर्ने अवस्था आउन सक्ने टिप्पणीसमेत गरिएको छ। अन्त्यमा रोनाल्डोलाई धन्यवाद दिँदै ‘तिमीले अझ धेरै सम्मान पाउनुपर्ने थियो’ भनिएको छ। एल्माले यही सन्देशलाई आफ्नो सामाजिक सञ्जालमा साझा गर्दै ‘यहाँ सबै कुरा भनिएको छ’ भन्दै समर्थन गरेकी हुन्।

प्रकाशित: Oct 01, 2026| 08:26 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्