काठमाडौं- जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ।
वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो। पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले सुरुवातमा केही विकेट गुमाए पनि हसन नवाज र अब्दुल समदले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए। पाकिस्तानले ९ बल बाँकी छँदै ११२ रन पूरा गरेको हो। यस जितसँगै पाकिस्तानले एसियाली खेलकुदको पुरुष क्रिकेटको स्वर्ण पदकका लागि हुने फाइनलमा स्थान सुरक्षित गरेको छ। हार बेहोरेको बंगलादेशले भने कास्य पदकको खेल दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग खेल्ने छ। दोस्रो सेमिफाइनल खेल आजै भारत र श्रीलंकाबीच हुदैछ।