बिहीबार, असोज १५, २०८३

आइसीसीले क्रिकेटमा लागू गर्यो यी नयाँ नियम

 |  बिहीबार, असोज १५, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०८३

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटका नियममा महत्वपूर्ण परिवर्तन गर्दै नयाँ व्यवस्था सार्वजनिक गरेको छ।

नयाँ नियमअनुसार ब्याटिङ गर्ने क्रममा समय खेर फालेमा तेस्रो र त्यसपछिको प्रत्येक गल्तीमा विपक्षी टोलीलाई ५ रन जरिवाना दिइनेछ। आईसीसीले बिहीबार सार्वजनिक गरेका नयाँ नियम सन् २०२६ अक्टोबर १ वा त्यसपछि सुरु हुने अन्तर्राष्ट्रिय शृंखलामा लागू हुनेछन्। यसअघि नै सुरु भइसकेका शृंखलामा भने पुरानै नियम लागू हुनेछन्।

नयाँ व्यवस्थामा पुरुष, महिला र जुनियर क्रिकेटमा प्रयोग हुने बलको आकार तथा तौलमा समेत फरक सीमा तोकिएको छ। साथै गुलाबी बलबाट दिनको समयमा टेस्ट खेलाउने परीक्षण, अन्तिम ओभरको नियम, रनआउट तथा स्टम्पिङको व्याख्या र टी–२० को विश्राम समयलगायतमा पनि परिवर्तन गरिएको छ।

१. टेस्टमा गुलाबी बलको परीक्षण

दिनको समयमा हुने टेस्टमा खराब प्रकाशका कारण खेल रोकिने समय घटाउन गुलाबी बल प्रयोग गर्ने परीक्षण गर्न सकिनेछ। त्यसका लागि खेल सुरु हुनुअघि दुवै टोलीको सहमति आवश्यक हुनेछ। एकपटक गुलाबी बल प्रयोग गर्ने निर्णय भएपछि पूरै खेलमा त्यही बल प्रयोग गर्नुपर्नेछ। खेल सुरु भइसकेपछि रातो बलबाट गुलाबी बलमा परिवर्तन गर्न पाइने छैन।

२. पुरुष, महिला र जुनियर क्रिकेटमा फरक आकारको बल

अब पुरुष, महिला र १३ वर्षमुनिका खेलाडीको क्रिकेटमा प्रयोग हुने बलको तौल र आकारका लागि छुट्टाछुट्टै सीमा तोकिएको छ। पुरुष क्रिकेटमा बलको तौल १५५.९ देखि १६३ ग्राम र परिधि २२.४ देखि २२.९ सेन्टिमिटर हुनुपर्नेछ। महिला क्रिकेटमा बलको तौल १४० देखि १५१ ग्राम र परिधि २१ देखि २२.५ सेन्टिमिटर हुनेछ। १३ वर्षमुनिको क्रिकेटमा बलको तौल १३३ देखि १४४ ग्राम र परिधि २०.५ देखि २२ सेन्टिमिटर तोकिएको छ।

३. सामान्य मिसफिल्डलाई ओभरथ्रो नमानिने

आईसीसीले ओभरथ्रोको परिभाषालाई पनि स्पष्ट पारेको छ। स्टम्पमा बल प्रहार गरी रन रोक्ने वा रनआउट गर्ने प्रयासका क्रममा बल अन्यत्र गएमा त्यसलाई ओभरथ्रो मानिनेछ। तर बल रोक्ने वा अर्को क्षेत्ररक्षकसम्म पुर्‍याउने प्रयासका क्रममा भएको सामान्य मिसफिल्डलाई ओभरथ्रो मानिने छैन।

४. बल ‘स्थिर’ भएको समय अम्पायरले निर्धारण गर्न सक्ने

अब बल ‘पूर्ण रूपमा स्थिर’ भएको मान्नका लागि बलर वा विकेटकिपरको हातमै हुनुपर्ने छैन। अम्पायरले बल कहिले पूर्ण रूपमा स्थिर भएको हो भन्ने निर्णय गर्न सक्नेछन्। यो व्यवस्था विशेषगरी खेलको अन्तिम बल वा निकै नजिकको अवस्थामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

५. रनआउट र स्टम्पिङमा बलमाथि पूर्ण नियन्त्रण आवश्यक

रनआउट वा स्टम्पिङ गर्दा क्षेत्ररक्षकको बलमाथि पूर्ण नियन्त्रण हुनुपर्नेछ। केवल बललाई हातले छोएर स्टम्प ढालेको अवस्थामा क्षेत्ररक्षकको बलमाथि नियन्त्रण रहेको मानिने छैन।

६. अन्तिम ओभरमा विकेट झर्दैमा दिनको खेल अन्त्य नहुने

दिनको अन्तिम ओभरमा विकेट झरेपछि ओभर पूरा नभएको अवस्थामा खेल स्वतः अन्त्य हुने छैन। मौसम र अन्य अवस्था खेलका लागि अनुकूल भए बाँकी बल त्यही दिन खेलाइनेछ। आईसीसीका अनुसार बाँकी बल अर्को दिन खेलाउँदा समय बचत नहुने भएकाले नयाँ व्यवस्थाले खेललाई अझ प्रभावकारी बनाउनेछ। यसबाट क्षेत्ररक्षण गर्ने टोलीलाई पनि फाइदा पुग्नेछ।

७. टी–२० मा १५ मिनेटको विश्राम

टी–२० अन्तर्राष्ट्रियमा अब १५ मिनेटको निश्चित विश्राम समय हुनेछ। तर खेलका क्रममा समय गुमेको अवस्थामा विश्राम अवधि घटाएर न्यूनतम १० मिनेट कायम गर्न सकिनेछ।

८. ड्रिङ्क्स ब्रेकमा मुख्य प्रशिक्षक मैदानमा जान पाउने

एकदिवसीय र टी–२० क्रिकेटमा अब मुख्य प्रशिक्षकले ड्रिङ्क्स ब्रेकका क्रममा मैदानमा प्रवेश गरी खेलाडीहरूसँग कुराकानी गर्न पाउनेछन्। महिला क्रिकेटमा यो व्यवस्था यसअघि नै लागू भइसकेको थियो।

९. लेग साइड वाइडसम्बन्धी नियम स्थायी

एकदिवसीय र टी–२० क्रिकेटमा परीक्षणका रूपमा लागू गरिएको लेग साइड वाइडसम्बन्धी नियमलाई स्थायी बनाइएको छ। ब्याटरले बल फ्याँक्नुअघि वा बल फ्याँक्ने क्रममा आफ्नो स्थान परिवर्तन गरेमा बल वाइड हो वा होइन भन्ने निर्णय गर्दा बल फ्याँकिएको क्षणमा ब्याटरको खुट्टाको अवस्थालाई आधार मानिनेछ। त्यसपछि ब्याटर अफ साइडतर्फ सरे पनि त्यसलाई वाइड निर्धारण गर्ने आधार बनाइने छैन।

यी नयाँ नियमले खेलको गति, समय व्यवस्थापन, बलको मापदण्ड तथा केही जटिल खेल अवस्थाको निर्णय प्रक्रियालाई थप स्पष्ट बनाउने आईसीसीको उद्देश्य रहेको बताएको छ।

प्रकाशित: Oct 01, 2026| 19:11 बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्