काठमाडौं- जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४३ वर्षीय चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेका छन्। चिवायोलाई जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङाग्वाका निकट व्यक्ति मानिन्थ्यो।
हेलिकप्टर राजधानी हरारेबाट करिब ७० किलोमिटर पूर्वमा रहेको मरोन्डेरा क्षेत्रमा दुर्घटनामा परेको हो। प्रहरीले स्थानीय समय अनुसार बुधबार साँझ करिब ५ बजे दुर्घटनाबारे जानकारी पाएको जनाएको छ। दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।
चिवायो ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनामा काम गर्ने कम्पनी इन्ट्राट्रेक जिम्बाब्वेका संस्थापक थिए। उनी ग्वान्डा सौर्य परियोजनालगायत सरकारी ठेक्काका कारण पनि चर्चामा आएका थिए। चिवायो आफ्नो विलासी जीवनशैली र सामाजिक सञ्जालमा राख्ने सामग्रीका कारण पनि परिचित थिए। उनले महँगा कार तथा विलासी हेलिकप्टरसँग खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका थिए। चिवायोको व्यवसाय र राजनीतिक सम्बन्धलाई लिएर समय–समयमा प्रश्नसमेत उठ्ने गरेका थिए। उनले राष्ट्रपति मनाङाग्वासँग भएका भेटघाटका तस्बिर तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका थिए। उनी दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, केन्याका राष्ट्रपति विलियम रुटो, तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन र इस्वाटिनीका राजा मस्वाती तृतीयलगायतका नेताहरूसँग पनि भेट गरिसकेका थिए।