काठमाडौं– इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने जनाएको छ ।
योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न सकिने दाबी कम्पनीको छ ।
घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने कम्पनीले जनाएको छ । यस्तै १५० एमबीपीएससहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।
वर्ल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुन सक्नेछन् । यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्ने कम्पनीले जनाएको छ ।
यो योजनाले इन्टरनेट सेवाग्राहीको वाईफाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वर्ल्डलिंकको विश्वास छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वर्ल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको छ ।
निर्मल पुर्जा वर्ल्डलिंकका सद्भावना दूत
आठ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त भएका छन् । बुधबार आयोजित कार्यक्रमबीच वर्ल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।
पुर्जाको हिमाल आरोहण सम्बन्धी कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र डकुमेन्ट्री ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ केही साता अघिमात्रै नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो ।