शुक्रबार, असोज १६, २०८३

मूल्यवृद्धि भारतको भन्दा चर्को, ५ प्रतिशत नाघ्यो

राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै कात्तिकमा मूल्यवृद्धिदर ५.३२ प्रतिशत पुगेको जानकारी गराएको हो।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं–  वार्षिक मूल्यवृद्धि गत वर्षको भन्दा माथि पुगेको जानकारी गराएको छ। राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गर्दै कात्तिकमा मूल्यवृद्धिदर ५.३२ प्रतिशत पुगेको जानकारी गराएको हो। गत वर्षको सोही महिनामा मूल्यवृद्धि दर ४.०५ प्रतिशत  थियो।

राष्ट्र बैंकका अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ४.७९ प्रतिशत र गैर खाद्य समूहतर्फ ५.७३ प्रतिशत छ। राष्ट्र बैंकले गत वर्षका कात्तिकको तुलनामा यस वर्ष घिउ तथा तेलजन्य पदार्थको मूल्य वृद्धि चर्को रहेको उल्लेख गरेको छ। गत वर्षको कात्तिकको तुलनामा यस वर्षका घिउ तथा तेलको मूल्य २९.११ प्रतिशतले बढी रहेको राष्ट्र बैंकको भनाइ छ। 

त्यस्तै यातायात क्षेत्रमा पनि चर्को मूल्य वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ। 

राष्ट्र  बैंकका  अनुसार गत वर्षको कात्तिकको तुलनामा यस वर्षको कात्तिकमा यातायात क्षेत्रमा १२.३६ प्रतिशतले बढेको छ। त्यस्तै माछा तथा मासुको मूल्यवृद्धि दर १०.९१ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको मूल्य वृद्धि दर १०.७० प्रतिशत र गेडागुडीको मूल्य वृद्धिदर १०.२४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

पहाडमा उच्च मूल्यवृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष पहाडी क्षेत्रमा ७.१४ प्रतिशतको मूल्यवृद्धि दर छ। उक्त मूल्यवृद्धि दर अन्य ठाउँको तुलनामा उच्च हो। यस वर्ष कात्तिकमा तराईमा ३.९५ प्रतिशत, काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत र हिमालमा ५ प्रतिशतको मूल्यवृद्धि दर छ। गत वर्षको कात्तिकमा काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशतको मूल्यवृद्धि रहेको थियो।

राष्ट्र बैंकले यस वर्षका कात्तिकमा गत वर्षको कात्तिकको तुलनामा थोक मूल्यवृद्धि दर घटेको उल्लेख गरेको छ। गत वर्षको कात्तिकमा मूल्य वृद्धि दर ९.४१ प्रतिशत रहेकोमा यस वर्ष ६.६८ प्रतिशत रहेको उल्लेख गरेको छ। निर्माण सामग्रीको मूल्यवृद्धि गत वर्षको तुलनामा २०.१० प्रतिशत छ।

भारतमा कम मूल्यवृद्धि

नेपाल राष्ट्र बैंकले कात्तिकमा नेपालमा भारतको भन्दा पनि बढी मूल्यवृद्धि दर रहेको उल्लेख गरेको छ। गत नोभेम्बरमा भारतका ४.९१ प्रतिशतको मूल्यवृद्धि रहेकोमा कात्तिकमा नेपालमा ५.३२ प्रतिशत रहेको राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा उल्लेख गरिएको छ।

प्रकाशित: Dec 15, 2021| 18:37 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्