बुटवल- नव उद्यमीलाई प्रोत्साहन र प्रवर्द्धनको लागि रुपन्देहीमा 'युवा उद्यमी सम्मेलन' हुने भएको छ। युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा आगामी मंसिर ३ गते रुपन्देहीको तिलोत्तमामा 'युवा उद्यमी सम्मेलन-रुपन्देही, २०२१' हुने भएको हो।
नयाँ पुस्तामा उद्यमशीलतामा आकर्षित गर्न तथा कानुनी र व्यवहारिक जटिलताहरूबारे जानकारी दिने उद्देश्यले सम्मेलन गर्न लागिएको अध्यक्ष प्रदीप शाक्यले बताए। उद्यमीहरूले सामना गरिरहेका मुद्दाहरू प्रकाश पार्ने र बैंकर, लगानी कर्ता, उद्यमी अभिनन्दन कर्ता तथा आकांक्षी उद्यमीहरूलाई जोड्न नवीनतम प्रयास गरिएको उनले बताए।
सम्मेलनमा लोटस होल्डिङका संस्थापक अजित विक्रम शाह, ई-सेवा फोन पे प्रालिका अध्यक्ष अस्गर अलि, टुट्लेका संस्थापक शिक्षित भट्ट, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि विज्ञ (व्यापारी) राजेन्द्र देवकोटा, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत नीरज खनालले उद्यमशीलता सम्बन्धी आफ्ना धारणा राख्ने छन्।
यस्तै थ्री एच म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सोहनबाबु कार्की, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, मेघा बैंकका प्रबन्धक विप्लव त्रिपाठी सिद्धार्थ इन्टरनेशनल कलेजका प्राध्यापक रामप्रसाद खरेल, मेल्टीस बुटवलका प्रविना खनाल र साधना नेपाल ईन्डष्ट्रिज (रोयल छोप)का संस्थापक हिमाल वेलवासेले उद्यमशीलता सम्बन्धी आफ्ना अनुभवहरू प्रस्तुत गर्नेछन्। सम्मेलनमा करिब १० सफल व्यवसायी तथा सफल कम्पनीको स्टल प्रदर्शनी गरिने सदस्य सन्देश श्रेष्ठले बताए।