इटहरी- भन्सार छलीमा भन्सार विभागकै कर्मचारीहरू संलग्न हुने भएको आरोप लागेको छ। झापा जिल्लास्थित भद्रपुर भन्सार कार्यालयका अधिकृतविरुद्ध राजस्व अनुसन्धान विभागले भन्सार छलीको आरोपमा मुद्दा दायर गरेको हो।
कार्यालयका अधिकृत प्रमोद पौडेलसहित ४ जनाविरुद्ध विभागले उच्च अदालत विराटनगरको, इलाम इजलासमा मंगलबार मुद्दा दायर गरेको छ। भद्रपुर नगरपालिका-७ का ४० वर्षीय पौडेलसमेतको संलग्नतामा १ करोड ६० लाख भन्सार चुहावट भएको विभागको आरोपपत्रमा उल्लेख छ। भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको लगाइएको विभागको इटहरी कार्यालयले जानकारी दिएको छ।
यसैगरी अन्य अभियुक्तमा कार्यालयकै नायब सुब्बा पदमा कार्यरत तीन जना छन्। नासुहरू नानुका पोखरेल (आचार्य), लक्ष्मी विश्वकर्मा र किशोर आचार्यसमेतलाई अभियुक्त बनाइएको छ।
उनीहरूविरुद्ध बिगो बराबरकै जरिवाना र प्रचलित कानुनअनुसार अधिकतम कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।