मंसिर- सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको भाडादर घटेको छ। गमगढीदेखि ताल्चसम्म जीपको भाडादर अत्यधिक बढेको जनगुनासोलाई मध्यनजर गर्दे सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा बसेको सर्वदलीय बैठकले नयाँ भाडादर निर्धारण गरेको हो।
विगतका दिनमा गमगढी बजारदेखि ताल्चसम्मको कच्ची सडकको भाडादर ५ सय रहेको थियो। अहिले परिमार्जन गरेर तीन सय निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए। उनका अनुसार ताल्चदेखि सल्लेरीसम्मको भाडा पनि निर्धारण गरिएको छ। जसमा ताल्चदेखि सल्लेरीसम्म दुई सय भाडादर कायम गरिएको छ।
यसैगरी बसको भाडादर गमगढीदेखि तुमसम्म ५०, गमगढीदेखि ताल्चसम्म एक सय, गमगढीदेखि पिनासम्म दुई सय, गमगढीदेखि बुलबुलेसम्म तीन सय ५०, गमगढीदेखि गोठीज्युलासम्म ६ सय, बस भाडा निर्धारण गरिएको छ।
गमगढीमा रहेका जीप तथा बस व्यवसायीले अनिवार्य यात्रुको टिकट काट्ने, सवारी साधन र काउन्टरमा भाडादर यात्रुले देखिने गरी राख्ने निर्णय गरिएको रारा छायानाथ यातायात प्राली मुगुका प्रतिनिधि नेता प्रसाद चौलागाईंले बताए। उनका अनुसार नयाँ कायम गरिएको भाडादर मंगलबारदेखि लागू गरिने छ।