काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनको शुक्रबार औपचारिक उद्घाटन भयो, सोमबार मतदान हुँदैछ। कांग्रेसको नेतृत्वका लागि पाँच जना उम्मेदवार मैदानमा छन्। कल्याण गुरुङबाहेकका सभापतिका उम्मेदवारले छुट्टाछुट्टै प्यानल बनाएर महाधिवेशनको मैदानमा होमिएका हुन्। १३ जना पदाधिकारीका लागि ३७ जनाले प्रतिस्पर्धा गरिरहेको कांग्रेस मैदानमा १३४ सदस्यीय केन्द्रीय कमिटीका लागि पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गरिरहेका छन्।
कांग्रेसको प्रदेश अधिवेशन र केन्द्रको महाधिवेशनबीचको समयावधि कम भएको र आफू कुन पदमा उम्मेदवारी दिने भन्ने निश्चित नभएका कारण पदाधिकारी र केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुलाई प्रचारको अवधि निकै कम भएको हो। तर, उनीहरुले यस छोटो अवधिमा पनि प्रचारशैली हेर्ने हो भने निकै भड्किलो देखिन्छ।
कांग्रेसको महाधिवेशनको उद्घाटनस्थलमा नै मतदान हुने भएकोले महाधिवेशनस्थल वरपर ५ सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि ब्यानर, भित्तेलेखन, पोस्टर, तुल, पम्प्लेट आदि राख्न नपाइने आचारसंहिता बनाएको छ। यही कारण भृकुटीमण्डभित्र भने कुनै पनि प्रचारप्रसारका ब्यानर तथा पोस्टरहरु छैनन्। तर, प्रदर्शनीमार्ग क्षेत्रमा पनि समर्थकहरुले आफ्नो उम्मेदवारहरुको ब्यानर टाँगिरहेका छन् भने पम्पलेट तथा प्रचारहरु बनाएर महाधिवेशन प्रतिनिधिहरुलाई वितरण गरिरहेका छन्।
प्रदर्शनी मार्गमा पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारका समर्थकहरुले नारा लगाउँदै आफ्नो नेताका लागि मत मागिरहेका छन्। सभापतिका उम्मेदवर प्रकाशमान सिंहका समर्थकहरुले छाताको वरिपरि 'प्रकाशमानलाई मतदान गरौं' लेखिएका पम्पलेटहरु टाँगेर उनको पक्षमा नाराबाजी गरिरहेका थिए। त्यसैगरी गगन र शेखर कोइरालाका समर्थकहरुले पनि उनको पक्षमा नाराबाजी गरिरहेका थिए।
प्रदर्शनीमार्गमा हेर्दा गगन थापाका समर्थकहरुले उनको समर्थन हुने गरी गीतहरु बजाइरहेका थिए। प्रदर्शनीमार्गमा राखिएको ठूलो स्क्रिनमा गगनको समर्थनमा बनाइएका भिडियो तथा गीतहरु बजाइएका थिए। त्यसैगरी विभिन्न समूहमा विभाजित भएर नाराबाजीसमेत गरिरहेका थिए। अन्य उम्मेदवारहरुको तुलनामा गगन थापाका समर्थकको प्रचारशैली भड्किलो देखिन्थ्यो।
कांग्रेसको सुन्दरता नै यही हो हजुर। हामी यही क्षेत्रमा पाँच सय उम्मेदवारका समर्थकहरु छौं। हरेक उम्मेदवारका कम्तिमा पनि २० जना समर्थकहरु विभिन्न समूह बनाएर मत मागिरहेका छौं। तर, हामीले कम्युनिस्टजस्तो अर्कोलाई होच्याउने र निषेध गर्ने गतिविधि गरेका छैनौं।
करिब एक किलोमिटरको क्षेत्रमा पाँच सयभन्दा बढी उम्मेदवारहरुका हजारौं समर्थकहरुले मत मागिरहेका थिए। तर, उनीहरुले कसैको विरोध भने गरेका थिएनन्। उनीहरुले आफ्नो उम्मेदवारहरुलाई अब्बल देखाउन अन्य उम्मेदवारका समर्थकलाई निषेध गर्ने, प्रतिवाद गर्ने र अर्को पक्षको उम्मेदवारलाई होच्याउनेजस्ता कुनै गतिविधिहरु देखिएनन्।
एक महाधिवेशन प्रतिनिधले भने, 'कांग्रेसको सुन्दरता नै यही हो। हामी यही क्षेत्रमा पाँच सय उम्मेदवारका समर्थकहरु छौं। हरेक उम्मेदवारका कम्तीमा पनि २० जना समर्थकहरु विभिन्न समूह बनाएर मत मागिरहेका छौं। तर, हामीले कम्युनिस्टजस्तो अर्कोलाई होच्याउने र निषेध गर्ने गतिविधि गरेका छैनौं।'
उनले भनेजस्तै कांग्रेसका उम्मेदवारहरुको प्रचारशैली भड्किलो देखिएको भए पनि कांग्रेसीहरु भने निकै संयमित र मर्यादित देखिन्थे। कांग्रेसले समितिले कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार प्रसार गर्न नपाइने, मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्नुपर्ने आचारसंहिता नै जारी गरेको थियो। महाधिवेशनको प्रचारस्थल बनाइएको प्रदर्शनीमार्गमा पनि सहिष्णु र संयमित कांग्रेसीहरु देखिएका थिए।
करिब दुई साताअघि सम्पन्न एमाले महाधिवेशनमा पार्टीभित्र फरक विचार राख्ने उम्मेदवारका समर्थकहरुलाई निषेध गर्ने, रोक्ने, प्रतिबन्ध लगाउनेजस्ता दृश्यहरु देखिएका थिए। तर, कांग्रेसको सभापतिका लागि पाँच जना, दुई उपसभापतिका लागि सात जना र दुई महामन्त्रीका लागि ६ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।
सभापतिका लागि कांग्रेसका जीवित नेताहरुमा पहिलो पुस्ताका शेरबहादुरदेखि कान्छो पुस्ताका कल्याण गुरुङसम्म प्रतिस्पर्धामा छन्। उम्मेदवारहरुका समर्थकले आफ्नो नेताको पक्षमा माहोल बनाउन रचनात्मक तरिकाहरु अपनाएका छन्, मतदाता आकर्षित गर्ने फरक शैली अपनाएका छन्। तर, एकअर्काप्रति संयमित भएर प्रस्तुत भएका छन्।
कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने भएका छन्। मतदानपछि सुरुमा सभापतिको मतगणना हुनेछ। सभापतिमा दुईभन्दा बढी उम्मदेवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने कांग्रेस विधानको व्यवस्था छ। सभापतिको टुंगो लागेपछि अरु पदका लागि मतगणना सुरु हुनेछ। मतगणना सकिन कम्तीमा १० दिन लाग्न सक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
तस्बिर: दिनेश श्रेष्ठ।