०४६ सालयताका विभिन्न आन्दोलनहरुमा होस् या पटकपटक भइरहने सरकारका बदमासी, बेथितीविरुद्ध उनी निरन्तर सडकमा लडिरहिन्। र, यसपटक कांग्रेसको १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यका लागि लड्दैछिन्।
उनीसँग आन्दोलनका क्रममा झेल्नुपरेका दुःखको सूची ठूलै छ। तर, भन्न रुचाउँदिनन्। ‘आन्दोलनका क्रममा पाएका दुःख त कति छन्, कति,’ उनी भन्छिन्, ‘०४६ सालको जनआन्दोलनमै मलाई प्रहरीले समातेको थियो। म अलि सानै थिएँ, तैपनि दुई जना महिला प्रहरीले आतंककारी स्टाइलमा घिसारेका थिए। त्यतिबेला मलाई म एकदमै ठूलो हुलमुलमा परेको लागेको थियो। तर, पछि सामान्य लाग्न थाल्यो।’
सडक आन्दोलनका क्रममा घाइते हुनु र प्रहरीको कुटाइ खानु सामान्य लाग्छ उनलाई। जनआन्दोलन ०६२–०६३ कै क्रममा उनी प्रहरीबाट घिसारिएकी थिइन्। प्रहरीले चावहिल चोकबाट ढाड खिइने गरी घिसारेको उनले अझै बिर्सिएकी छैनन्। तर, विस्तृतमा सम्झिन चाहन्नन्। उनलाई लाग्छ, आन्दोलनमा होमिएपछि घाइते हुनु, लड्नु अनि उठ्नु त यसका अनिवार्य सर्त नै हुन्।
प्रतिमाका अनुसार उनलाई राजनीतिमा सहभागी हुन र पटक पटक आन्दोलनमा होमिन हौस्याउने उनकै बुबा हुन्। ‘बुवाले घरमा सधैँ छोरीहरु अगाडि बढ्नुपर्छ, छोरीहरुले केही गरेर देखाउनु पर्छ भनिरहनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘त्यतिबेला महिलाहरुलाई घरबाट बाहिर निस्कनै मुस्किल हुन्थ्यो। तर पनि बुबाआमाले मलाई पढाउनुभयो । जीवनमा केही गरेर देखाउन उत्प्रेरित गरिरहनुभयो।’
उनीसँग आन्दोलनका क्रममा झेल्नुपरेका दुःखको सूची ठूलै छ। तर, भन्न रुचाउँदिनन्।
बुबाकै प्रेरणा र हौसलाले भनौं, ०४६ सालयताका हरेक परिवर्तनकारी आन्दोलनहरुमा प्रतिमा सधैँ अग्रभागमा भइन्। उनलाई लाग्छ, उनले सहभागी भएर गरेको आन्दोलनको मुख्य उपलब्धिका नै लैंगिक समानता हो। घरबाट बाहिर निस्कनै मुस्किल हुने परम्परागत समाजबाट पछिल्लो समय सरकारी क्षेत्र होस् वा राजनीति सबैतिर महिला सहभागिता बढ्दै जानुलाई उनी जनआन्दोलनको मुख्य उपलब्धी ठान्छिन्।
‘आज भन्दा २०–२५ वर्ष अगाडि वडामा जम्माजम्मी १ जना वा २ जना महिला हुने अर्थात महिला सहभागिता ५ प्रतिशत पनि मुस्किलले हुने गरेको थियो,’ उनी भन्छिन्, ‘आजका दिनमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भइसकेको छ। यसलाई उपलब्धि मान्नुपर्छ। संविधानमै यो व्यवस्था गरिनु हामीले गरेको आन्दोलनको उपलब्धि हो।’
तर, यसैलाई पर्याप्त भन्न नहुनेमा पनि उनी सचेत छिन्। ‘अझै पनि हाम्रो नीतिनिर्माण तहमा महिलाहरु पुग्नुपर्छ। कार्यकारी पदमा महिलाहरु पुग्नुपर्छ र महिलाहरुका एजेण्डा कार्यान्वयनमा आउनुपर्छ । र, त्यसका लागि हाम्रो लडाइँ त यथावत् नै छ,’ उनी भन्छिन्।
माधव नेपालसँगको त्यो प्रतिस्पर्धा
आन्दोलनले जन्माएकी विद्यार्थी नेता हुन्, प्रतिमा। ०६४ सालमा संविधानसभाको पहिलो निर्वाचनमा उनी समानुपातिकतर्फको उम्मेदवार थिइन्। ०७० सालको निर्वाचनमा भने उनी देशभरको नजरमा परिन्। कारण, एमालेमा प्रभावशाली मानिएका नेता माधव नेपालसँग उनले प्रतिष्पर्धाको हिम्मत गरिन्। भलै हार बेहोरिन् तर एमालेका वरिष्ठ नेता नेपाललाई उनले राम्रै टक्कर दिइन्।
सडक आन्दोलनका क्रममा घाइते हुनु र प्रहरीको कुटाइ खानु सामान्य लाग्छ उनलाई। जनआन्दोलन ०६२–०६३ कै क्रममा उनी प्रहरीबाट घिसारिएकी थिइन्। प्रहरीले चावहिल चोकबाट ढाड खिइने गरी घिसारेको उनले अझै बिर्सिएकी छैनन्।
तैपनि गत वर्ष भएको उपनिर्वाचमा चाहिँ पार्टीले उनलाई टिकट दिएन। उनलाई लाग्छ, त्यतिबेला पार्टीको जित निश्चत थियो, तैपनि टिकट पाइएन। भन्छिन्, ‘पार्टीले त्यतिबेला काठमाडौं क्षेत्र नम्बर २ मा दीपक कुइँकेललाई टिकेट दियो र कांग्रेसका तर्फबाट उहाँले जित्नु पनि भयो। जित्ने कन्फर्म पनि थियो तर त्यतिबेला टिकट पाइएन। यो पार्टीभित्र अझै पनि महिलालाई कसरी पछाडि पारिन्छ भन्ने प्रमाण पनि हो।’
राजनीतिक पृष्ठभूमि
प्रतिमाको राजनीतिक यात्रा ०४६ सालमा काठमाडौंस्थित पद्मकन्या क्याम्पसबाट सुरु भएको थियो। पारिवारिक पृष्ठभूमि प्रजातान्त्रिक भएका कारण उनले सुरुदेखि नै कांग्रेसमै लागेर राजनीति सुरु गरिन्।
०४६ सालतिर आन्दोलनको क्रममा क्याम्पसमा थाल ठटाएका दिनहरु उनले बिर्सिएकी छैनन्। ०४९ सालमा उनी पदमकन्या क्याम्पसको स्ववियू सदस्य भएकी थिइन्। त्यसपछि ०५१ सालमा स्ववियूको सहसचिव, ०५३ मा उपसभापति हुँदै ०५५ स्ववियूको सभापति जितिन्।
०५७ सालमा चितवन अधिवेशनबाट विश्वप्रकाश शर्मा नेविसंघ अध्यक्षमा निर्वाचित हुँदै गर्दा उनी त्यतिबेला नेविसंघको केन्द्रिय सदस्यमा निर्वाचित भएकी थिइन्। त्यसपछि ०६४ सालमा उनी नेविसंघको महामन्त्री निर्वाचित भइन्। त्यसयता पार्टीको १०औं महाधिवेशनदेखि उनी निरन्तर महासमिति सदस्यको रुपमा महाधिवेशनमा सहभागी हुँदै आएकी छन्।
०४६ सालतिर आन्दोलनको क्रममा क्याम्पसमा थाल ठटाएका दिनहरु उनले बिर्सिएकी छैनन्।
यसपटक भने आफै उम्मेद्वारी दिएकी छिन्, कांग्रेस केन्द्रमा युवा पुस्ताको उपस्थिति खोज्दै। उनलाई लाग्छ, पछिल्लो समय कांग्रस पार्टी आफैंमा लथालिंग भइरहेको छ। ‘कांग्रेसको विधिविधान र पद्धतिलाई हामी बिर्सदैछौं,’ उनी भन्छिन्, ‘विधानले विभागहरु गठन गर्ने कुरा ३ महिना या ६ महिनाभित्र गरिसक्नु पर्ने भनेको छ तर, हामीले ४ वर्षसम्म पनि गर्न सकेनौं। त्यसकारण अहिलेको आवश्यकता पार्टीलाई विधानतः अगाडि बढाउनु मूल आवश्यकता हो। र, यो मेरो प्रमुख एजेन्डा पनि हो।’
कांग्रेस सशक्त हुँदामात्रै देश सबल हुने बताउँदै उनी थप्छिन्, ‘कांग्रेस भनेको जनताको पार्टी हो, जनमुखी पार्टी हो। त्यसैले हामी जनतासँग नजिक रहेर, जनताको सुखदुःखमा साथ दिएर अगाडी बढ्न सक्नुपर्छ।’
प्रतिमा आफूलाई निरन्तर रुपमा कहीँकतै विचलित नभई, पद प्राप्तिको लोभ नगरी निरन्तर संगठन र प्रजातन्त्रको लागि लडेको योद्धा ठान्छिन्। त्यहीकारण महाधिवेशन प्रतिनिधिले आफूलाई विश्वास गर्नेमा ढुक्क छिन्। ‘मान्छेहरु धेरै आत्मकेन्द्रित राजनीति गर्छन्,’ उनी भन्छिन्, ‘तर, म स्वार्थ विना लागेको छु। निःस्वार्थ भावमा पार्टीमा लामो समय सेवा गर्नेमा पर्छु। मलाई विश्वास छ, यो महाधिवेशनले त्यसको मूल्यांकन गर्ने नै छ।’