काठमाडौं- आवरणमा एउटा सुन्दर रुखको स्केच छ। र, त्यसको जरामा कसैले पानी खन्याइरहेको छ। अनि, चित्रमाथिको शीर्षकमा लेखिएको छ, ‘कसले सुधार्छ कांग्रेस?’
नेपाली कांग्रेसको १४औं महाधिवेशनको संघारमा सार्वजनिक भएको पुस्तकको आवरण चर्चा हो यो। आवरण हेर्दा लाग्छ, यसका लेखक भनिरहेका छन्, ‘कांग्रेस यतिखेर बिरामी छ, यसलाई गोडमेल गरेर जसरी पनि बचाउनु छ।’
यो पुस्तकका लेखक हुन्, तिनै शंकर तिवारी जसका लेखहरू अखबार र अनलाइनहरुमा निरन्तर छाइरहन्छन्। र, मुख्य कुरा उनका प्रायः लेखहरुमा नेपाली कांग्रेस रहेकै हुन्छ, लोकतन्त्र र समाजवाद भएकै हुन्छ। उनी निरन्तर आफ्ना लेखहरुमा समतामूलक समुन्नतिका कुरा गरिरहेका हुन्छन्।
कांग्रेस महाधिवेशनको सम्मुखमा सार्वजनिक यो पुस्तक पनि तिनै पछिल्ला आठ वर्षहरुमा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका उनका समसामयिक लेखहरुको संग्रहित रुप हो।
पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’
पाठकसामु शंकरको मूल परिचय हो, लेखक। तर, यही कांग्रेस महाधिवेशनबाट उनी आफ्नो परिचय अलि फराकिलो बनाउने कसरतमा छन्। यसपटक उनले ‘कसले सुधार्छ कांग्रेस?’ पुस्तक मात्रै सार्वजनिक गरेका छैनन्, सँगसँगै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी पनि घोषणा गरेका छन्। यस्तो लाग्छ, पुस्तकले सोधिरहेको प्रश्नको जवाफ उनी दिन खोजिरहेका छन्, ‘हामी सुधार्छौं कांग्रेस।’
केन्द्रीय सदस्यका 'डेब्यू' उम्मेदवार हुन् उनी। राजनीतिमा उनी गाउँदेखिको कार्यकर्ताभन्दा पनि अध्येताको रुपमा बढी सक्रिय छन्। अनि, बीपी कोइरालाको समाजवादी दर्शनलाई व्यावहारिक रुपमा समाजमा लागू गर्न संकल्पित देखिन्छन्। त्यसैले त उनको परिचय यो पनि छ, उनी विद्यार्थी आन्दोलनले निर्माण गरेको कांग्रेसको युवा प्रतिनिधि पात्र हुन्।
000
२०५७ सालको कुरा हो। देशमा माओवादीको सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो। र, त्यही बेला नवलपरासीस्थित गाउँबाट झोला बोकेर काठमाडौं निस्किएका थिए, शंकर। त्यतिबेला भर्खर एसएसली परीक्षा दिएका थिए उनले।
थप अध्ययनको सिलसिलामा काठमाडौं आइपुगेका थिए उनी। तत्कालीन दरबारले शासनसत्ता हातमा लिएको समय थियो त्यो। सानैदेखि अध्ययनशील उनी अखबारहरु खुब पढ्थे। त्यसबेला अखबारहरु राजनीतिक घटनाक्रमले भरिभराउ हुन्थे। शंकरलाई लाग्छ, सशस्त्र द्वन्द्वको समय र त्यतिबेला अखबारमा छापिने राजनीतिक खबरहरुले उनलाई देशको राजनीतिसँग परिचित मात्रै गराएन, चासो पनि बढायो।
‘म त मेरो व्यक्तिगत करिअर बनाउन काठमाडौं छिरेको थिएँ, तर मुलुकको राजनीतिक मुठभेडले मेरो सोच नै बदल्दियो,’ शंकर भन्छन्, ‘मलाई लाग्यो, राजनीतिक सेटलमेन्ट बिना मेरो करिअर सेटल हुनै सक्दैन। अनि राजाले सत्ताले टेकओभर गरेको त्यही समय मैले निधो गरेँ, अब म राजनीति गर्छु।’