काठमाडौं- पोखरेली चर्चित कवि तथा प्राज्ञ विजय बजिमयको निधन भएको छ। कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमयको निधन भएको हो।
२०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका उनी शारीरिक रूपमा जन्मजात अपाङ्ग थिए। उनले वि.सं. २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरु गरेका थिए। उनको ‘समय भनेको समय हो’ कविता सङ्ग्रह चर्चित छ। ‘अन्ततोगत्वा’ (कथा सङ्ग्रह) सहित करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए।
कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजल श्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौं साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए।
बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसकेका थिए।
लेखक कवि तीर्थ श्रेष्ठको अनुसार उनको शव २९ गते बिहान शव यात्रा मोहोरियाटोल, नालामुख, तेर्छापट्टि, गिरिजाचोक, धर्मशिलावुद्घबिहार, नदिपुरचोक, कन्या क्याम्पस, बालमन्दिर हुँदै तुलसी घाटमा अन्त्यस्ठि गरिने छ।