धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका सांसद प्रकाश देउवा पदमुक्त भएका छन्।
प्रदेशसभाका लगातार २५ बैठकमा अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
कैलाली-५ को प्रदेशसभा ‘२’ बाट निर्वाचित तथा पूर्वमन्त्रीसमेत रहेका देउवा २०८२ असोजदेखि प्रदेशसभाका बैठकमा सहभागी भएका छैनन्। बैठकमा अनुपस्थित रहे पनि उनले प्रदेशसभाबाट प्राप्त हुने पारिश्रमिक तथा अन्य सुविधा भने लिँदै आएको जनाइएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई कुनै जानकारी नदिई अमेरिका गएको र हालपनि अमेरिकामै रहेको बताइएको छ।
प्रदेशसभा नियमावली, २०८० को नियम १(३) अनुसार सभाको जानकारीबिना लगातार १० बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। देउवाले लगातार १० बैठकमा अनुपस्थित भएपछि आफू अमेरिका रहेको जानकारी सभामुखलाई गराएपनि लामो समयसम्म प्रदेशसभा बैठकमा उपस्थित नभएपछि सभामुखले पदमुक्त गर्ने निर्णय गरेको बताइएको छ।
देउवा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन्। सभामुखले पदमुक्त गर्ने निर्णय गरिसकेको र प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराउने प्रदेश सभा सचिवालय स्रोतले जानकारी दिएको छ।