मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मकवानपुरमा स्कार्पियो दुर्घटना हुँदा रजिष्ट्रारकी पत्नीको मृत्यु, पाँच घाइतेमध्ये एकको अवस्था गम्भीर

मकवानपुरमा स्कार्पियो दुर्घटना हुँदा रजिष्ट्रारकी पत्नीको मृत्यु, पाँच घाइतेमध्ये एकको अवस्था गम्भीर

 |  मंगलबार, भदौ २, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०८३

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा मंगलबार बिहान भएको स्कार्पियो जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा निधन भएको छ।

मृत्यु हुनेमा रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ। उनको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप मंगलबार बिहान करिब ७ बजे जुरिखेतमा अनियन्त्रित भई सडकबाट खोल्सामा खसेको थियो।

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका-९ घर भएका उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, ५७ वर्षकै रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र र ३१ वर्षीया रिता बडु घाइते भएका थिए। यसैगरी, दाङको राप्ती नगरपालिका-८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरीसमेत दुर्घटनामा घाइते भएका छन्।

मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहेको छ भने बडु परिवारका अन्य सदस्यहरूलाई घटनालगत्तै सेनाको हेलिकप्टरबाट छाउनी अस्पताल ल्याइएको थियो। बिहान करिब सवा १० बजे अस्पताल पुर्‍याइएकी लक्ष्मी बडुलाई चिकित्सकले करिब साढे १० बजे मृत घोषणा गरेका थिए।

प्रकाशित: Aug 18, 2026| 13:15 मंगलबार, भदौ २, २०८३
प्रतिक्रिया दिनुहोस्