मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

इमरानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

 |  मंगलबार, भदौ २, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०८३

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल भर्ना गर्न आदेश दिएको छ । अदालतले उनको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य परीक्षण समिति गठन गर्नसमेत निर्देशन दिएको छ ।

तीन सदस्यीय इजलासले इमरानको उपचार र परिवारसँग भेटघाटसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै उनलाई शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको हो । इजलासको नेतृत्व न्यायाधीश शाहिद वहीदले गरेका थिए । इजलासमा न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम पनि थिए ।

अदालतमा प्रस्तुत गरिएको स्वास्थ्य प्रतिवेदनमा इमरानको रक्तचापमा उतारचढाव, मुटुको धड्कनमा परिवर्तन र मानसिक तनाव देखिएको उल्लेख छ । पछिल्लो परीक्षणमा उनको रक्तचाप १४०/८० र नाडीको गति प्रतिमिनेट ५४ पटक रहेको बताइएको छ । यसअघि फेब्रुअरीमा उनको रक्तचाप १२०/८० रहेको थियो ।

अदालतले इमरानको स्वास्थ्यको विस्तृत परीक्षण गर्न स्वास्थ्य परीक्षण समिति गठन गर्न आदेश दिएको छ । समितिमा उनकी बहिनी डा. उज्मा खान र निजी चिकित्सकलाई पनि सहभागी गराउन भनिएको छ ।

समितिले इमरानको सम्पूर्ण स्वास्थ्य परीक्षण गर्नुका साथै पुराना स्वास्थ्य प्रतिवेदन अध्ययन गर्नेछ । उनको शरीरमा रगत जम्नुको कारण, सम्भावित जोखिम तथा आवश्यक उपचारबारे समितिले सुझाव दिनेछ । साथै उपचार जेलमै सम्भव छ वा अस्पतालमै राख्नुपर्ने हो भन्ने विषयमा पनि समितिले सुझाव दिनेछ ।

अडियाला जेल प्रशासनले यसअघि अदालतमा दुई पृष्ठको स्वास्थ्य प्रतिवेदन बुझाएको थियो । त्यसमा आँखासम्बन्धी समस्या केन्द्रीय दृष्टिपटल शिरा अवरोधको पनि उल्लेख छ । उक्त समस्याको उपचार भइरहेको र प्रभावित आँखाको दृष्टि लगभग सामान्य अवस्थामा फर्किएको प्रतिवेदनमा जनाइएको छ ।

सर्वोच्च अदालतले इमरान खानलाई उनकी बहिनीहरूसँग भेटघाट गर्न नदिएको विषयमा पनि प्रश्न उठाएको छ । न्यायाधीश शाहिद वहीदले परिवारका सदस्यसँग भेटघाट गराउनु कुनै उपकार नभई इमरानको मौलिक अधिकार भएको टिप्पणी गरे । अदालतले पछिल्ला तीन वर्षमा इमरान र उनका बहिनीबीच भएका सबै भेटघाटको विवरण मागेको छ । यस्तै, उनका छोराहरूसँग भएको कुराकानी र फोन सम्पर्कको विवरणसमेत अदालतमा पेस गर्न आदेश दिइएको छ । अदालतले अडियाला जेल प्रशासनसँग इमरानको पूर्ण स्वास्थ्य प्रतिवेदन माग्दै प्रतिवेदनको विस्तृत विवरण नदिई सारांश मात्र पेस गरिएकोमा असन्तुष्टि जनाएको छ ।

७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । उनलाई सुरुमा तोसाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएपछि पक्राउ गरिएको थियो । त्यसपछि साइफर, अल-कादिर ट्रस्ट र इद्दत निकाहलगायत विभिन्न मुद्दा चलाइएको थियो । साइफर र इद्दत निकाहसम्बन्धी मुद्दामा उनले अदालतबाट राहत पाइसकेका छन् । तोसाखाना मुद्दामा पनि उनको एक सजाय रोकिएको थियो । तर अन्य मुद्दाका कारण उनी अझै जेलमै छन् ।

इमरान खान र उनको दल पाकिस्तान तहरीक ए इन्साफले भने सन् २०२२ मा  प्रधानमन्त्री पदबाट हटेपछि आफूविरुद्ध राजनीतिक उद्देश्यले मुद्दा लगाइएको दाबी गर्दै आएका छन् । उनीहरूले इमरानलाई राजनीति तथा निर्वाचनबाट टाढा राख्न मुद्दा चलाइएको आरोप लगाउँदै आएका छन् । पाकिस्तानी सरकार र अनुसन्धान निकायले भने यी आरोप अस्वीकार गर्दै मुद्दाहरू कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको बताउँदै आएका छन् ।

प्रकाशित: Aug 18, 2026| 18:16 मंगलबार, भदौ २, २०८३
प्रतिक्रिया दिनुहोस्