काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्वि गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउनमा सरकारको आम्दानी ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो, जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् ८ अर्ब २४ करोडले वृद्धि हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फको कुल प्राप्ति ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजस्वतर्फको कुल प्राप्ति सात अर्ब तीन करोड ४७ लाख छ। त्यस्तै, सरकारले पहिलो महिना २४ करोड तीन लाख वैदेशिक अनुदान सहायता लिएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च ४१ अर्ब ८८ करोड ५८ लाख रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
चालू आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख बराबरको बजेट ल्याइएको थियो। साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको एक दशमलव ९७ प्रतिशत हो।
चालू शीर्षकमा यस वर्ष १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन भएकोमा साउन मसान्तसम्म एक दशमलव ६८ प्रतिशत अर्थात् २१ अर्ब ४० करोड ३८ लाख खर्च भएको छ। त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन भएकोमा शून्य दशमलव ३१ प्रतिशत खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म रु १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ,जुन यो शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव ५३ प्रतिशत बराबर हो।