काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा अनुपस्थित चीन र रुसका नेताको आलोचना गरेका छन्।
कोप२६ मा बोल्दै बाइडनले ठूलो मुद्दा रहेको जलवायुबाट चीन टाढिएको बताए। चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई बाइडनले ‘ठूलो गल्ती’ भनेका छन्।
उनले भने, ‘चीनले विश्व नेताका रुपमा विश्वमा आफ्नो नयाँ भूमिका रहेको देखाउन खोजिरहेको छ र यहाँ भने देखाएको छैन।’
चीनकै जस्तै व्यहार रुसले गरेको आरोप बाइडेनको थियो। बाइडनले रुसको जङ्गल क्षेत्र डढिरहेको र त्यहाँका राष्ट्रपति त्यस्तो मुद्दाबारे ‘मौन बसेको’ आरोप लगाए।
स्कटल्यान्डको ग्लास्गोमा दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुसका राष्ट्रपति अनुपस्थित भएपछि बाइडेनले उनीहरुको आलोचना गरेका छन्। ती दुवै देशका प्रतिनिधि भने सम्मेलनमा सहभागी छन्।
सम्मेलनमा विश्वका १२० भन्दा बढी मुलुकका नेता सहभागी छन्। सहभागी मुलुकहरुले सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन्।
बाइडनले सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोप२६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए। उनले रुसले वनको संरक्षण सशक्त रुपमा गर्ने बताए।