शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'क्लु' मिलेपछि बेपत्ता विनालाई नारायणी नदीतिर खोज्दै प्रहरी

'क्लु' मिलेपछि बेपत्ता विनालाई नारायणी नदीतिर खोज्दै प्रहरी

इलाका प्रहरी कार्यालय गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे खनालका अनुसार बेपत्ता भएकै राति ८ बजेर ४१ मिनेटतिर विना नारायणी नदीको किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला परेको छ।
 |  आइतबार, साउन ३, २०७८

अनिल यादव

अनिल यादव

आइतबार, साउन ३, २०७८

काठमाडौं- ‘आधा घण्टामा फर्कन्छु’ भनेर २० दिनअघि घरबाट निस्किएकी नवलपुरस्थित गैंडाकोटकी विना सापकोटा अहिलेसम्म बेपत्ता छिन्। निरन्तर खोजीमा जुटिरहेको प्रहरीले उनीबारे नयाँ ‘क्लु’ फेला पारेको छ।  

triton college

इलाका प्रहरी कार्यालय गैंडाकोटकी इन्सपेक्टर लक्ष्मी पाण्डे खनालका अनुसार बेपत्ता भएकै राति ८ बजेर ४१ मिनेटतिर विना नारायणी नदीको किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला परेको छ।

‘नजिकै एउटा पसलमा रहेको सीसीटीभीमार्फत हामीले उनी एक्लै हिँडिरहेको देख्यौँ,’ इन्स्पेक्टर खनालले भनिन्, ‘त्यतिमात्रै होइन, वरिपरि स्थानीयसँग सोधपुछ गर्दा उनलाई राति एक्लै हिँडिरहेको अवस्थामा देख्ने प्रत्यक्षदर्शी पनि भेट्यौं। नदी किनारतिर एक्लै हिँडेको देखेको केहीबेरपछि स्थानीयले उनलाई पछ्याएका पनि रहेछन् तर, भेटेनन्। एकैछिनमा उनी गायब भइछिन्। कहाँ गइन्, त्यो अझै खुलेको छैन।’

कसरी हराएकी थिइन् विना ? 

स्थानीय जनक कलेजमा बीबीएस तेश्रो वर्षमा अध्ययनरत २१ वर्षिया विना गत असार १४ गते घरबाट निस्किएकी थिइन्। साँझ साढे ४ बजेतिर उनका प्रेमी प्रवेश कँडेल नै उनलाई लिन घरसम्म आएका थिए। प्रवेशको स्कुटरमा चढेर घरबाट निस्किएकी विनाले बुबासँग आधा घण्टामा फर्कने बताएकी थिइन्। 

corrent noodles
Metro Mart

तर, साँझ साढे ६ बजेतिर प्रवेशले नै विनाका बुबा जयश्वरलाई उनी रिसाएर हिँडेको खबर गरेका थिए। त्यसपछि आत्तिएका बुबाले तत्काल प्रहरीलाई छोरी हराएको खबर गरेनन्। तीन दिनसम्म लगातार छोरीको खोजीमा हिँडे। कतै गएकी होलिन् भन्ने अनुमान गरे। तर, १७ गतेसम्म पनि नफर्किएपछि १८ गते जयश्वर जिल्ला प्रहरी कार्यालय चितवनको शरणमा पुगे, छोरी हराएको निवेदन लिएर। 

निवेदनकै आधारमा प्रहरीले खोजी कार्य अघि बढायो। सबैभन्दा सुरुमा विनालाई घरबाट लिएर जाने प्रवेशलाई नियन्त्रणमा लियो। प्रवेशलाई लिएपछि खुल्यो– त्यो दिन उनीहरुबीच भएको झगडा। 

प्रवेश र विना दुवै लामो समयदेखि प्रेम सम्बन्धमा थिए। प्रवेश विनाको घरमा आउजाउ गरिरहन्थे। दुवैले आफ्नो फेसबुक प्रोफाइलमा एकअर्कासँगको प्रेम सम्बन्ध खुलाएका थिए। ‘तर, विनाले प्रवेश अर्को युवतीसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि उनीहरुवीच विवाद उत्पन्न भएको देखियो,’ जिल्ला प्रहरी कार्यलय चितवनका एसपी ओम अधिकारीले प्रवेशको बयान उद्धत गर्दै भनेका थिए, ‘त्यसपछि ती अर्की युवतीसँग छलफल गर्न विना प्रवेशसँग गएकी रैछिन् तीन जनाबीच छलफल भएपछि। त्यहीक्रममा अर्की युवती र विनाबीच वादविवाद भएछ। त्यही क्रममा विना बेहोससम्म भइछिन्।’

त्यसपछि छलफल गरिरहेको कम्पाउन्डबाट तीनैजना अर्की युवतीको घरमा गएका थिए। प्रवेशले प्रहरीसँग दिएको बयानअनुसार त्यो दिन उनी साथीको स्कुटर लिएर गएका थिए। केहीबेरपछि प्रवेशले विनालाई घर छोड्न भनेर बाहिर निस्किएका थिए। तर, जब उनले स्कुटर चलाए, त्यसपछि विनाले बस्न मानिनन्, केही परसम्म हिँडेरै गएको प्रवेशले बयानमा खुलाएका छन्। 

बेपत्ता भएको चार दिनपछि खबर पाएको प्रहरीले यसरी खोज्दैछ चितवनकी विनालाई

नजिकै चौबिसकोठीसम्म विना हिँड्दै पुगेकी थिइन्। त्यहीँनेर प्रवेशले स्कुटर रोखेर पैसा निकाल्न एटीएम छिरेका थिए। प्रवेशले प्रहरीसँग दिएको बयानअनुसार त्यही एटीएममा छिरेका बेला विना गायब भएकी थिइन्। त्यसपछि उनले यो कुरा विनाका बुबा जयश्वयरलाई जानकारी गराएका थिए। त्यसदिन जयश्वर र प्रवेश दुवैले राति दुई बजेसम्म विनालाई खोजेका थिए। त्यसदिन प्रवेश एटीएममा छिरेको प्रहरीले सिसिटिभी फुटेज चेक गर्दा पनि देखिएको छ।

प्रहरीले प्रवेशलाई नियन्त्रणमा लिँदा उनीसँग विनाको फुटेको मोबाइलसमेत फेला पारेको छ। झगडाका क्रममा विनाले मोबाइल फुटाएको प्रवेशले बताएका छन्। विनाको परिवारले पनि दुईबीचको प्रेम सम्बन्ध प्रहरीसँग खुलेर स्वीकारेका छन्। 
बेलायत बस्ने प्रवेश वैशाख दोस्रो सातामात्रै नेपाल फर्किएका थिए। उनको जुलाई १२ तारिखका लागि बेलायत फर्किने टिकट थियो। बेलायतबाट फर्किएपछि प्रवेश चार दिन विनाकै घरमा बसेका थिए। प्रवेशले बिहेको कुरा राख्दा विनाको उमेर कम भएकाले बुबा जयश्वरले दुई वर्ष कुर्न भनेका थिए। 

विना राति एक्लै नारायणी नदी किनारतर्फ गइरहेको सीसीटीभी फुटेज फेला परेपछि चितवन प्रहरी यतिबेला नदीमा हामफालेको हुनसक्ने आशंकामा त्यतातिर शव खोजिरहेको छ। विनाको परिवार र स्थानीय पनि त्यसमा जुटेका छन्। तर, अहिलेसम्म केही फेला पर्न सकेको छैन।

‘प्रेमीले धोका दिएको रिसमा विनाले गलत कदम चालिन् कि भन्ने आशंका छ तर शव नभेटिएसम्म केही बोल्न सकिन्न,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। 
 

प्रकाशित: Jul 18, 2021| 09:03 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।