आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुजिता 'रहस्यमय मृत्यु' प्रकरण : यी तीन कोणबाट हुँदैछ प्रहरी अनुसन्धान

सुजिता 'रहस्यमय मृत्यु' प्रकरण : यी तीन कोणबाट हुँदैछ प्रहरी अनुसन्धान

अनुसन्धान चलिरहेका बेला एक्कासि जंगलमा भेट्टिएको शवले यतिखेर चितवन प्रहरीको मथिंगल हल्लाइदिएको छ। एकातिर जनआक्रोश, अर्कोतिर अनुसन्धानमा उत्पन्न भएका जटिलताले प्रहरीलाई घटनाको निष्कर्षमा पुग्न झन् गाह्रो भइरहेको छ। 
 |  मंगलबार, असार २२, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, असार २२, २०७८

काठमाडौं- ‘भिण्डी लिन साथीको घर जान्छु’ भन्दै हिँडेकी चितवनकाे राप्ती बगरटोलकी सुजिता भण्डारी ९ दिनपछि धमिलीमा रहेको ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिइन्। घरबाट हिँडेकै दिन उनले दिदी कवितालाई फोन गरेर अपहरणमा परेको संकेत गरेकी थिइन्। 

triton college

त्यसपछि जिल्ला प्रहरी कार्यलय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको प्रहरी टोली नै उनको खोजीमा जुटिरहेको थियो। तर, प्रहरीले सुजितासम्म पुग्न कुनै ‘क्लु’ पाउन सकिरहेको थिएन। यही क्रममा आइतबार साँझ एक्कासि जंगलको बीच झ्याङमा सुजिताको गलेको शव फेला परेपछि यो घटना झन् रहस्यमय बनेको छ। 

कसले पुर्‍यायो सुजितालाई त्यो जंगलसम्म? कसरी भयो उनको मृत्यु? अहिलेसम्म प्रहरीको अनुसन्धानले कुनै निष्कर्ष निकाल्न सकेको छैन। तर, मौजुदा अवस्थामा प्रहरी अनुसन्धानको सुई तीन कोणबाट घुमाइरहेको छ। 

पहिलोः जे सतहमा आयो 

सुजिता असार ११ गते बिहानै जितपुरमा रहेकी साथी पुनम राईकहाँ भिण्डी लिन जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि सम्पर्कविहिन भएकी उनी दिउँसो १२ बजेतिर दिदीसँगको फोन सम्पर्कमा आएकी थिइन्। त्यतिबेला उनले दिदीलाई रुँदै भनेकी थिइन्, ‘म हिँडिरहेको थिएँ, गाडीबाट सौराहा चोक जाने बाटो सोध्यो, टाउकोमा हान्यो। आँखामा पट्टी बाध्यो। गाडीमा आइमाइ छ, केटा मान्छे छ... ।’

corrent noodles
Metro Mart

कुराकानी नसकिँदै फोन काटिएको थियो। केही बेरपछि सुजिताले पुनः १२ः४२ र १२ः ४४ मा दुईवटा म्यासेज पठाएकी थिइन्। पहिलोमा ‘पूर्व साइड’ लेखिएको थियो भने दोश्रोमा ‘पूर्व’। 

त्यसपछि सम्पर्कविहिन भएकी उनी अपहरणमा परेको आशंका भयो। सुजिताले हतास अवस्थामा आफ्नै मोबाइलबाट गरेको फोन र त्यसपछिको संकेतपूर्ण म्यासेजले पनि अपहरणकै शंका पैदा गरेकाे थियाे। 

सुजिता मृत्यु प्रकरणबारे सुरुदेखि नै सतहमा आएको सूचना पनि यही हो। प्रहरी पनि यही ‘क्लु’का आधारमा सुजिताको खोजी गरिरहेको थियो। उनको कल डिटेल, एसएमएस, म्यासेन्जर सबै ‘ट्रयाकिङ’ गरिरहेको थियो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सुजिताको फोन ‘ट्रयाकिङ’बाट पछिल्लो ६ महिनायता कुनै व्यक्तिसँग त्यस्तो बारम्बर संवाद पनि भेटिएन। न कुनै शंकास्पद त्यस्तो  भेटियो। त्यही कारण अनुसन्धानमा खटिएका चितवन प्रहरी र सिआइबी टोली दुवैलाई सुजिता भेट्न सकस भइरहेको थियो। 

सुजिताकी आमा

भिण्डी लिन हिँडेकी सुजितालाई साथीको घर पुग्न नपाउँदै बीच बाटोमै कसले उठायो? प्रहरीको अनुसन्धान यही कोणबाट अघि बढिरहेको थियो। प्रहरीले सुजिताको परिवार, नजिकका साथीहरुसँग निरन्तर सोधपुछ र निगरानी गरिरहेको थियो।

तर, सुजिताले अपहरणको संकेतसहित गरेको फोनबारे पनि प्रहरी अन्याेलमा थियो। सुजिताले आफ्नै मोबाइलबाट फोन गर्नु र त्यसपछि कसैले पनि फिरौती रकम माग्नलाई फोन नगर्नुले प्रहरी पनि अपहरण नै हो भन्नेमा ढुक्क हुन सकेको थिएन। पेशेवर अपहरणकारी भए यस्तो नहुनु पर्ने प्रहरीको अड्कल छ। 

तर, अनुसन्धान चलिरहेका बेला एक्कासि जंगलमा भेट्टिएको शवले यतिखेर चितवन प्रहरीको मथिंगल हल्लाइदिएको छ। एकातिर जनआक्रोश, अर्कोतिर अनुसन्धानमा उत्पन्न भएका जटिलताले प्रहरीलाई घटनाको निष्कर्षमा पुग्न झन् गाह्रो भइरहेको छ। 

सावित्री सुवेदीको नेतृत्वमा मंगलबार भएको प्रदर्शन

तर, जे होस्, प्रहरी अनुसन्धानको पहिलो कोण बाहिर सतहमा आएझै अपहरणकै कोणमा अघि बढिरहेको छ। त्यसैले प्रहरी यतिखेर सुजिता अपहरणमा पर्न सक्ने सम्भावनाहरुको अध्ययनमा जुटिरहेको छ।

‘हामीले सतहमा आएका सूचनालाई त्यत्तिकै भुलेका छैनौं, त्यसलाई केलाउने र सम्भाववित ‘क्लु’ निकाल्ने प्रयास जारी नै छ। तर पछिल्लो अवस्थाले अनुसन्धानको दायरा अलिक फराकिलो बनाउनुपर्ने देखियो,’ अनुसन्धानमा खटिएका एक प्रहरीले नेपाल समयसँग भने, ‘शव फेला परेपछिको अवस्थाले अनुसन्धानलाई अलिक जटिलतातिर लगेको छ। स्वाभाविक रुपमा मुचुल्कामा राखिएका विवरणहरुले हामीहरुलाई सोचमग्न बनाएको छ।’

दोश्रोः घटनास्थलमा जे भेटियो

प्रहरीका अनुसार जंगलमा च्याउ टिप्न गएका स्थानीयले सुजिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुजिताको दिदी कविताले उनको शव पहिचान गरेकी थिइन्। अहिले प्रहरीले आफ्नो अनुसन्धानलाई घटनास्थल, शवको प्रकृति र घटनास्थल आसपास भेटिएका सामग्रीमा पनि केन्द्रित गरिरहेको छ। शवको प्रकृति र ती सामग्रीहरुको विश्लेषण गर्दै प्रहरीले यो रहस्यमय मृत्यु प्रकरणको अनुसन्धानलाई एउटा ठोस निष्कर्षमा पुर्‍याउने जमर्को भइरहेको बताइरहेको छ।  

सुजिताको हत्या हो या आत्महत्या, त्यो अहिले नै भन्न सकिने अवस्थामा नरहेको बताउँछन्, जिल्ला प्रहरी कार्याय चितवनका प्रमुख एसपी ओम अधिकारी। सुजिताको शरीरमा त्यस्तो कुनै गहिरो र देखिने घाउ पनि प्रहरीले भेटेको छैन। सुजिताको शव नजिकै प्रहरीले सेतो पदार्थको बोतल भेटेको छ। जसलाई सुजिताका बुबाले पतेरामा हाल्ने औषधी भनेर प्रहरीसँग ‘कन्फर्म’ गरिदिएका छन्। यो औषधी भेटेपछि कतै यही सेवन गरेर पो उनको मृत्यु भयो कि?

प्रहरीले यो कोणबाट घटनालाई हेरिरहेको छ। तर सँगसँगै पतेरा लागेको तरकारीमा हाल्ने यो विषादीबाट मान्छेको मृत्यु हुनसक्छ या सक्दैन? मृत्यु नै हुने भयो भने उसको शारीरिक अवस्था कस्तो हुन्छ? मृत्यु हुनुअघि ऊ कति छटपटाउँछ? यस्तो मृत्युले कस्तो अवस्था पैदा गर्छ भन्ने जस्ता प्रश्नहरुलाई आधार मानेर प्रहरीले घटनामा अनुसन्धानको ‘लेन्स’ राखिरहेको छ।

मंगलबारमात्रै त्रिभुवन शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि सुजिताको शव काठमाडौं ल्याइएको छ। एसपी अधिकारी पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै आत्महत्या या हत्या, त्यसबारे यकिनसँग भन्न सकिने बताउँछन्। यो घटनाको अनुसन्धानमा पोष्टमार्टमको रिपोर्ट महत्वपूर्ण रहेको उनको तर्क छ। 

प्रहरीले हालसम्म घटनास्थलबाट ३ सय २० रुपैयाँ रकमसहितको सुजिताको झोला भेटेको पनि छ। सोमबारसम्म सुजिताको मोबाइलको ब्याट्रीमात्रै भेटिएको थियो, मंगलबार शव भेटिएको स्थानभन्दा करिब २० मिटर पर उनको मोबाइल पनि फेला परेको छ । तर, मोबाइलभित्र मेमोरी कार्ड मात्रै छ, सिम कार्ड छैन। सिम कार्ड नभेटिनुले अपहरणको आशंकामा बल पुर्‍याएको छ। 

मृतक सुजिता

प्रहरी यतिखेर शव भेटिएको स्थान वरपर सुजिताको चप्पल खोजिरहेको छ। चप्पल भेट्टियो भने घटना यही घटेको निर्क्याेल हुने प्रहरीको तर्क छ। अहिलेसम्म घटना कहाँ घटेको भन्ने पक्का हुन सकेको छैन। शव भेटिएको स्थानमै घट्यो या कतै घटाएर यहाँ ल्याइयो, यसमा पनि प्रहरीको अनुसन्धान जारी नै छ। 

मंगलबार सुजिताको मोबाइल भेट्टिएपछि भने प्रहरी अहिले त्यसको ‘ट्रयाकिङ’मा लागेको छ। यसबाट केही ‘क्लु’ पाइन्छ कि भनेर अनुसन्धान गरिरहेको छ। सँगसँगै सुजिता निकट शंकास्पद व्यक्ति निगरानी पनि गरिरहेकै छ। 

तेश्रोः पोष्टमार्टम रिपोर्टले विषादी खाएको देखायो भने? 

यतिखेर सुजिता मृत्यु प्रकरणलाई घटनास्थलमा भेटिएको विषादीको बोतलले झन् रहस्यमय बनाइदिएको छ । एक त गलेको अवस्थामा भेटिएको सुजिताको शवमा त्यस्तो कुनै गम्भिर चोटपटक भेटिएको छैन, अर्कोतिर नजिकै भेटिएको विषादी बोतलले प्रहरीलाई हत्या या आत्महत्याबारे ठम्याउन मुस्किल परिरहेको छ । 

पोष्टमार्टम रिपोर्टले हत्या देखायो भने त प्रहरीको अनुसन्धान अपहरण गरेर मारिएको कोणमा अझ केन्द्रित हुन्छ नै तर विष खाएको देखायो भने? यो प्रश्न अहिले जोडले उठिरहेको छ । 

तर, विष खाएकै देखायो भने पनि प्रहरीलाई आत्महत्या भनेर अनुसन्धानबाट उम्कने अवस्था देखिँदैन। कारण सुजिताले बेपत्ता हुनुअघि अपहरणमा परेको संकेतसहित रुँदै गरेको फोन कल। उनले किन विष खाइन् या कसैले बाध्य बनायो? पोष्टमार्टमको रिपोर्टपछि प्रहरीको अनुसन्धान त्यस कोणबाट पनि केन्द्रित हुने अनुसन्धानमा संलग्न प्रहरी बताउँछन्।

प्रहरी अहिले घटनास्थलमा भेटिएको विषादीले मान्छे मर्छ या मर्दैन, त्यसको अध्ययनमा पनि जुटेको छ। पछिल्लो समय प्रेम सम्बन्ध पनि हिंसामा परिणत भएका घटना सार्वजनिक भइरहेका छन्। प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको छ तर सुजिता कुनै प्रेम सम्बन्ध रहेको भेटिएको छैन।  

त्यसो त सुजिता माघमा काठमाडौं गएकी थिइन्। ब्याचलर फोर्थ इयरको परीक्षा दिएर बसिरहेकी उनी कोरोनाको दोश्रो लहर सुरु भएसँगै लकडाउनमा घर फर्किएकी थिइन्। घटनासँग काठमाडौं हुँदाको कुनै कनेक्सन छ कि, प्रहरीले त्यो पाटोबाट पनि हेरिरहेको बताउँछ। 

तर, प्रहरी यो तीनै कोणबाट गरिरहेको अनुसन्धान अहिले बाहिर ल्याउने ‘मुड’मा छैन। रहस्यमय मृत्युलाई टुंगोमा पुर्‍याएपछि मात्रै विस्तृत रुपमा बोल्ने ‘मुड’मा छन्, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी अधिकारी।

प्रकाशित: Jul 06, 2021| 15:57 मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।