काठमाडौं- देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आजदेखि नेपालमा मनसुन थप सक्रिय बनेको छ। सक्रिय मौसमका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। अन्य प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिनभर नै देशभर सामान्यदेखि पूर्ण बदली पूर्वानुमान गरिएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सावधानी अपनाउन महाशाखाको आग्रह छ।
भारी वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्नसक्ने भएकाले उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।